१३ दिने गृहमन्त्री खगराजले भने: देउवा सरकार निकम्मा भयो - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

१३ दिने गृहमन्त्री खगराजले भने: देउवा सरकार निकम्मा भयो



काठमाडौं – तत्कालिन ओली सरकारका १३ दिने गृहमन्त्री तथा नेकपा एमाले सांसद खगराज अधिकारीले सरकारलाई निकम्माको संज्ञा दिएका छन् । उनले सरकारको क्षमता र समय सान्दर्भिक विषयमाथि प्रतिनिधिसभा प्रश्न उठाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अधिकारीले वर्तमान सरकार गम्भीर नभएको भन्दै प्रश्न उठाएका हुन् । यसअघिको केपी शर्मा ओलीको सरकारले ल्याएको कोरोनाभाइरसविरुद्धको खोप नै वितरण गरेर अहिले सत्तापक्षका सांसदले आफूहरुले खोप दिएको दाबी गरेको पनि उनले आरोप लगाएका छन् ।

‘केपी ओली सरकारले ल्याएको खोप आफूले ल्याएको जस्तो सत्तापक्षका सांसदले गर्नु भएको छ,’ उनले भने, ‘तर, सबै देश अहिले आफ्ना नागरिकप्रति जिम्मेवार भएका छन्, तर नेपाल सरकारले के गरेको छ ?’

अफगानिस्तानमा पछिल्लो समय तालिबान समूहले द्वन्द्व बढाउँदै गर्दा अरु देशहरुले नागरिक फिर्ता लगेको तर नेपाल सरकार यसमा गम्भीर नभएको आरोप पनि उनले लगाएका छन् ।

‘नेपालीको मन दुखेको छ,’ उनले भने, ‘अफगानिस्तानमा नेपाली अर्तनाद गरिरहेका छन्, निकम्मा सरकारले केही गर्छ कि गर्दैन ?’

उनले अफगानिस्तानमा दुःख पाइरहेका नेपालीलाई सरकारले नल्याएसम्म यो सरकारलाई अरु काम गर्न नदिने पनि बताएका छन् । ‘उनीहरुलाई सुरक्षित रुपमा ल्याउनु पर्छ,’ उनले भने, ‘नत्र यो सरकार निकम्मा हो ।’