को हुन् कांग्रेस उपसभापतिमा विजयी खड्का र गुरुङ?
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको मतगणना सकिएको छ।
महाधिवेशनको अन्तिम मत परिणामअनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। गुरुङले अर्का प्रत्यासी विजय गच्छदारलाई अन्तिम समयमा आएर झिनो मतान्तरले पराजित गर्न सफल भए।
नेपाली कांग्रेसको इतिहासमा उनीहरू पहिलो निर्वाचित उपसभापति भएका छन्। कांग्रेसमा दुई जना उपसभापति हुने विधानतः व्यवस्था छन्।
मतगणनाको शुरुआती अवस्थामा अग्रता बनाइरहेका धनराज गुरुङ अप्रत्याशित रूपमा तल झर्दै गएका थिए।। करिब १०० देखि २०० मतसम्मको अग्रता लिएका उनको मत परिणाम अन्तिम समयमा आएर उल्टिएको थियो। उनले सभापतिमा पराजित भएका शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए।
महेश आचार्यले आचार्यले प्यानलबिना उम्मेदवारी दिएका थिए। उपसभापतिको दौडबाट गच्छदारसँगै आचार्य, प्रकाशमान सिंह समूहमा रहेकी सुजाता कोइराला र विमलेन्द्र निधितर्फबाट दिव्यश्वरी शाह पनि थिए।
यस्तै कोइराला प्यानलबाटै उपसभापतिमा उम्मेदवारी दिएका डा चन्द्र ढकाल पनि मतपरिणामको अन्तिम समयमा आएर तल झरे। उनी सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलबाट सभापतिमा प्रत्यासी थिए।
यता मत परिणामको शुरुआती अवस्थामा निकै तल रहेका विजय गच्छदारले भने अप्रत्याशित रूपमा अग्रता बनाएका थिए। गुरुङ र डा भण्डारीभन्दा निकै तल देखिएका उनले ३५ सय मत गणना हुँदा एक्कासि सबैलाई उछिन्न सफल भएका थिए।
उपसभापतिमा खड्काले सर्वाधिक मत पाउँदा गुरुङ र गच्छादारबीच भने तीव्र प्रतिस्पर्धा भयो।
मतगणना निरन्तर भइरहेको बेला विवाद उत्पन्न भएपछि केहीबेर रोकिएको थियो। जसका कारण अन्तिम मतपरिणाम आउन समय लागेको थियो।
को हुन् पूर्णबहादुर खड्का ?
सुर्खेत, वीरेन्द्रनगर निवासी खड्का समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुन्। उनी २०४८, २०५१ र २०५६ सालका तीनवटै संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।
उनले सूचना तथा सञ्चार र गृह मन्त्रीको जिम्मेदारी पटकपटक सम्हालिसकेका छन्। लामो समयदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहिआएका खड्का २०५२ सालमा पार्टी विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्तिक) मा केन्द्रीय सदस्य भएका थिए।
२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका उनले पटकपटक गरेर कुल पाँच महीना जेल जीवन बिताएका छन्। पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमनविरोधी आन्दोलनमा सक्रिय रहँदा उनी नजरबन्द तथा थुनामा परका थिए। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रका स्नातक पूर्णबहादुर खड्काका एक छोरा छन्।
खड्का १३ औं महाधिवेशनबाट मनोनित महामन्त्री हुन्। कर्णाली कांग्रेसकै एक बलिया खम्बा खड्का देउवा समूहका खास नेता हुन्। विगतमा पाँच पटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भइसकेका छन् उनी। खड्का संसदको राज्य व्यवस्था समितिको सभापति पनि भएका थिए।
दुईपटक गृहमन्त्री भइसकेका खड्काले वीरेन्द्रनगरमा मेयरको रूपमा चुनाव जितेका थिए। खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए। त्यतिबेला उनी जम्मा २४ वर्षका मात्र थिए। पञ्चायतकालले प्रतिबन्ध लगाएको अवस्थामा पनि उनले सक्रिय राजनीति गर्दै आएका थिए।
को हुन् धराज गुरुङ ?
नेपाली काङ्ग्रेस, स्याङजा जिल्ला उपसभापति धनराज गुरुङ समानुपातिक प्रणालीअन्तर्गत संविधानसभामा सभासद् थिए। २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका गुरुङ २०५३ सालमा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति, २०५४ सालमा तरुण दलका महासचिव र त्यसपछि काङ्ग्रेस स्याङजा जिल्ला कार्यसमिति सदस्य भएका थिए।
राजनीतिक संघर्षका क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोग्दै आएका गुरुङ गुरुङ त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर छन्। एक छोराका पिता गुरुङ सैद्धान्तिक स्पष्टता, लगनशीलता र जुझारूपन भएका नेताका रूपमा चिनिन्छन्।
भारतले लगाएको नाकाबन्दीविरुद्ध कांग्रेसभित्र चर्को मतभेद भइरहेको बेला गगन थापा, विश्वप्रकाश शर्मालगायतसँगै सडकमा आएर विरोध गरिरहँदा उनले पनि यसको नेतृत्वदायी भूमिका खेलका थिए।
सांसद तथा मन्त्री रवीन्द्र अधिकारीको निधनपछि कास्की क्षेत्र नम्बर २ मा भएको गत प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट पछि हट्दै उनले स्थानीय नेतालाई नै टिकट दिनुपर्ने बताएका थिए। उनको उक्त निर्णयबाट उनको लोकप्रियता अझ चुलिएको थियो।
को हुन् विजय गच्छदार ?
१४ औं महाधिवेशनमा झिनो मतान्तरले पराजित विजय गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी-८ पचरामा भएको हो। इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्रा थालनी गरेका थिए।
पछि कांग्रेस परित्याग गरी उनी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का संस्थापक अध्यक्ष बने। उपेन्द्र यादव नेतृत्वमा रहेको मधेशी जनाधिकार फोरमबाट अलग भएपछि उनले यो पार्टी खोलेका थिए।
मधेशी जनाधिकार फोरममा एमाले नेता माधव नेपालको नेतृत्वमा सरकारमा सहभागी हुने कि नहुने विवाद चलेको थियो। १५/१६ जेठ २०६६ फोरमको बैठक बसेको थियो। त्यतिबेला सिंहदरबारको संसदीय दलको बैठकमा दुई नेताका पक्षधर सांसदबीच हात हालाहाल भएको थियो। लगत्तै गच्छदारले पार्टी फुटाएर मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) गठन गरेर माधव नेपाल नेतृत्वको सरकारमा सहभागी भएका थिए।
संविधानसभाका सभासद् पनि रहेका उनी मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालीन मधेशी जनाधिकार फोरमको सभासद् बनेका थिए।
सत्तारोहणमा माहिर मानिने उनी उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्रीसमेत भइसकेका छन्। तर पछि उनी पुनः कांग्रेसमा फर्केका थिए।
तर बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका उनको सांसद पद निलम्बन अवस्थामा छ। उनले यो प्रकरणमा १० लाख धरौटी बुझाएर बाहिरिएका थिए।
ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीविरुद्ध यो मुद्दा सर्वोच्चमा चलिरहेको छ।