केन्द्रको निर्देशन एमाले सुदूरपश्चिम संसदीय दलले मानेन: सरकारबाट समर्थन फिर्ता नलिने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

केन्द्रको निर्देशन एमाले सुदूरपश्चिम संसदीय दलले मानेन: सरकारबाट समर्थन फिर्ता नलिने



काठमाडौं- नेकपा एमालेले केन्द्रमा सुदूरपश्चिम सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेपनि प्रदेश संसदीय दलको बैठकले भने तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

सोमबार एमाले स्थायी कमिटीको बैठक बसेर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । समर्थन फिर्ता लिए पनि तुरुन्तै नयाँ सरकार गठन गर्न कठिन हुने भएपछि एमाले प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

केही बेरअघि सकिएको प्रदेश संसदीय दलको बैठकले केन्द्रको विपक्षमा निर्णय गरेको हो । अहिलेको अवस्थामा सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको एक सांसदले बताए।

बुधबार बसेको बैठकमा २१ जना सासंद सहभागी थिए। सभामुखबाहेक अरु तीन जना सांसद बैठकमा उपस्थित थिएनन्। धनगढीभन्दा बाहिर रहेकोले बैठकमा ओली पक्षका रतन थापा, गेल्बु सिह बोहरा र लीलाधर भट्ट सहभागी भएका थिएनन्।

प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ। एमालेले सरकार बनाउन चाहेमा सभामुखबाहेक तीन मत कम हुन्छ। जसपाले समर्थन गर्नेमा एमाले सुदूरपश्चिम ढुक्क छ।

यदि त्यसो भएमा कांग्रेस माओवादी गठबन्धनको २५ र एमाले जसपा गठबन्धनको २६ मत हुन आउँछ ।

प्रदेश सभामा कांग्रेसका १२ र माओवादी केन्द्रका १३ सांसद छन् । सुरूमा १४ सांसद रहेको माओवादीमा झपट बोहरा एमालेमा गएपछि पदमुक्त भएका छन्।