२० दिनपछि बसेको स्थायी कमिटि बैठक एकाएक स्थगित
काठमाडौँ – आठौँ पटकको स्थगनपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक मंगलबार बसेको छ । समसामयिक विषयमा केही निर्णयहरु गर्दै बैठक स्थगित भएको छ ।
बैठकले बाढी, पहिरो तथा डुवानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनर्स्थापनको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
यस्तै चितवनको माडी स्थित चेपाङ बस्तीमा आगो लगाइएको घटनामा पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको स्थायी कमिटि सदस्य केशव बडालले जानकारी दिए ।
अब अर्काे बैठक साउन १३ गते बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा पूर्व निर्धारित विषयहरुमाथि छलफल हुने बताइएको छ ।
मंगलबारको बैठकअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । स्थायी कमिटि बैठकमा अध्यक्ष ओली भने सहभागी भएका थिएनन् ।