निर्मला हत्याकाण्ड छानबिन समितिका सदस्य केसीमाथि आक्रमण - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

निर्मला हत्याकाण्ड छानबिन समितिका सदस्य केसीमाथि आक्रमण



धनगढी : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समिमितका एक सदस्य सवार गाडीमा आक्रमण भएको छ ।

छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतवार धनगढी फिरेका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको हो ।

सुदूरपश्चिमको राजधानी गोदावरी तोकिएको विरोधमा आन्दोलनरत समूहबाट केसी सवार बा१झ९७०३ नम्बरको सरकारी गाडीमाथि धनगढी–अत्तरिया सडकखण्डमा  आक्रमण भएको हो ।

केसी सवार गाडीमाथि सुरुमा अगाडिबाट ढुंगा हानिएको थियो । अगाडिबाट हानिएको ढुंगा छलेपछि उनी सवार गाडीमा पछाडिबाट हानिएको ढुंगाले लागेको छ ।

‘मोटरसाइकलमा सवार युवाहरुमध्ये एकजनाले पछाडिबाट ढुंगा हानेपछि गाडीको शिशा फुटेर मेरो टाउकोमा पनि लाग्यो’, केसीले भने, ‘टाउकोमा सामान्य चोट लागेको छ, टोपी लगाएकाले गहिरो चोट लाग्न पाएन ।’

केसी गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिमा करिब एक महिनासम्म रहेर धनगगढी फिरेका हुन् ।

उनले समितिको पहिलो १५ दिनको म्याद सकिएपछि निर्मलाले न्याय नपाउने भन्दै राजीनामा दिएका थिए । तर गृहमन्त्री थापासँगको छलफलपछि उनी काममा फर्किएका थिए ।

गोदावरी राजधानी तोकिएपछि धनगढीमा आन्दोलन चर्किएको छ । स्थानीयबासी सडकमा उत्रिएर सरकारी तथा निजी सबै किसिमका सवारीसाधन सञ्चालनमा अवरोध गरिरहेका छन् ।