अमेरिका र अन्यलाई ‘कठोर बदला’ लिने इरानको चेतावनी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अमेरिका र अन्यलाई ‘कठोर बदला’ लिने इरानको चेतावनी



काठमाडौं- इरानले अमेरिकालाई गम्भीर धम्की दिएको छ । अमेरिकाले गरेको हवाई आक्रमणमा आफ्ना उच्च सैन्य कमाण्डरको मृत्यु भएपछि अति रुष्ट भएको इरानले त्यसको कठोर बदला लिने बताएको छ ।

इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले अपराधिहरुले कठोर बदलाको सामना गर्नु पर्ने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको राजधानी बग्दादमा रहेको विमानस्थलमा भएको हवाई आक्रमणमा शुक्रबार इरानका उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको मृत्यु भएको हो ।

सर्वोच्च नेता खामेनीका विश्वास पात्र समेत रहेका मेजर जनरल सुलेमानी इरानी सेनाका प्रमुख रणनीतिकार हुन् । उनकै नेतृत्वमा इरानको सेनाले मध्य पूर्वमा सैन्य अभियान चलाउँदै आएको थियो । मेजर जनरल सुलेमानीको मृत्युसँगै इरानसहित मध्य पूर्वमै तनाव उत्पन्न भएको छ ।

अमेरिका र इरानबिचको सम्बन्धमा थप टकराव ल्याउने र युद्धको अवस्था आउन सक्ने देखिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफ्नो देशले युद्ध अन्त्यका लागि हवाई आक्रमण गरेको दाबी गरेका छन् ।

तर अमेरिकाको पछिल्लो हवाई आक्रमण नै मध्य पूर्वमा तनाव र सम्भावित युद्धको कारण बन्ने देखिएको विश्लेषण गरिएको छ । सुलेमानीलाई इरानमा देशका सर्वोच्च नेता अलि खामेनीपछिका दोस्रो शक्तिशाली व्यक्तिका रुपमा लिने गरिन्छ ।

स्थानीय समय अनुसार शनिबार बिहानै पनि आफ्ना इराकी मिलिशियाका गाडीलाई लक्षित गरी हवाई आक्रमण भएको इराकी सेनाको उच्च स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

इराकको राष्ट्रिय टेलिभिजनले समेत यी आक्रमणका सम्बन्धीमा रिपोर्टिङ्ग गरेको छ । राजधानी बग्दादको उत्तरी क्षेत्रमा ती आक्रमण भएको इराकी टेलिभिजनले जनाएको छ । तर अमेरिकी राष्ट्रपति कार्यालय वासिङ्गटनले भने यस सम्बन्धमा कुनै टिप्पणी गरेको छैन ।

बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा सुलेमानीसँगै इरान समर्थित बिद्रोही नेताहरु अमेरिकाले गरेको हवाई आक्रमणमा परेका हुन् । सुलेमानीले इरानको विशिष्ट सैन्य दस्ता कुड्स फोर्समा २१ वर्षदेखि नेतृत्व गर्दै आएका थिए ।

सुलेमानीको मृत्युपछि अति आक्रोशित भएका सर्वोच्च नेता खामेनीले यो अपराधको पछाडि रहेकाहरुले गम्भीर बदला लिने बताएका छन् ।

अमेरिका र इजरायमाथिको प्रतिरोध अझै बढेको उनले उल्लेख गरेका छन् । यसको अर्थ सो क्षेत्रमा युद्ध बिस्तार हुने र तनावले हिंसात्मक रुप लिने सम्भावना रहेको विश्लेषकले बताएका छन् ।