काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री ,यस वर्षकै बढी चिसो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री ,यस वर्षकै बढी चिसो



काठमाडौं –काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं को न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौं को न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो । गत वर्ष डिसेम्बर ३० मा काठमाण्डुको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस थियो । त्यसैले गत वर्षको तुलनामा यस वर्ष अलि बढी चिसो भएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

प्रधानाङ्गका अनुसार अब केही दिन न्यूनतम तापक्रम ० देखि २ को हाराहारीमा रहनेछ । ‘सिजनल इफेक्टले न्यूनतम तापक्रम घटबढ भइरहेको हो । तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ’, उनले भने ।

राति आकाश सफा भएकाले बिहान बेलुकी बढी चिसो महसुुस गरिएको हो । आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । सोमबार देशैभरि मौसम सफा रहने विभागले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार डडेलधुरा, मोरङ र ताप्लेजुङको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै दाङ र पोखराको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम आज माइनस ७ डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ ।