काठमाडौंमा प्रहरी नै ‘हप्ता असुली’ मा सक्रिय - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

काठमाडौंमा प्रहरी नै ‘हप्ता असुली’ मा सक्रिय



काठमाडौं । ‘हप्ता असुली’ प्रहरीले गुन्डालाई लगाउने आरोप हो । तर, प्रहरीभित्रै पनि यस्तो गतिविधि चल्ने गरेको छ । अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैं पनि हप्ता असुल्ने गर्छन् । राजधानीमा प्रहरीका पछिल्ला घुसकाण्डले त्यही भन्छन् ।

शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध वृत्तका डिएसपी श्यामकुमार राईले सामान्य भट्टीदेखि बालुवा कारोबारीसँग नियमित पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एक बालुवा व्यापारीसँग उनले वृत्तमा गएको केही हप्तामै २ लाख ५० हजार रुपैयाँ लिएका थिए । बालुवा ओसार–पसारमा अनावश्यक दुःख नदिने सर्तमा व्यापारीले उनलाई पैसा दिएका थिए ।

पछि फेरि डिएसपीले टिभी किनिदिन आग्रह गरे । पहिले नै धेरै पैसा बुझाएकाले ती व्यापारी टिभी किनिदिन तयार भएनन् । पछि डिएसपी राईले सोनी ब्रान्डको ७० इन्चको टिभी आफैँले किनेको र त्यसको बिल तिरिदिन भन्दै १ लाख ४० हजार रुपैयाँ मागे । पटक–पटक मागेपछि ती व्यापारीले अख्तियारलाई खबर गरेर शनिबार पैसा दिएका थिए । पैसा लिएलगत्तै उनी कार्यकक्षबाटै पक्राउ गरे ।

बदनाम ‘लाइन’
उपत्यकाका महानगरीय प्रहरी वृत्त तथा प्रभागलाई ‘लाइन’का कार्यालय भनेर चिनिन्छ । ‘लाइन’मा सरुवा हुन प्रहरीमा ठूलो सोर्सफोर्स चल्दछ । ठूला नेता, प्रहरी प्रमुखनिकटका व्यक्ति उपत्यकाका वृत्त तथा प्रभागमा इन्चार्ज भएर सरुवा हुन्छन् । किन यति धेरै सोर्सफोर्स चल्छ ? जब कि, अन्यत्रभन्दा उपत्यकाका कार्यालयमा बढी खटिनुपर्छ । किनकि, ती कार्यालयमा अतिरिक्त आम्दानी हुन्छ ।

गोप्य रूपमा अवैध धन्दा गर्नेहरूले प्रहरीलाई हप्ता तथा महिनामा नियमित पैसा बुझाउँछन् । यही कारण लाइनका कार्यालयमा प्रहरीको आकर्षण छ । यसअघि पनि उपत्यकाका वृत्त तथा लाइनका प्रहरी पटक–पटक घुससहित पक्राउ परेका छन् । यसले उपत्यका वृत्त तथा प्रभागमा हुने आर्थिक चलखेल प्रस्ट हुन्छ । नयाँ पत्रिकामा खबर छ ।