काठमाडौं–दिल्ली र बुटवल–दिल्ली चल्ने बसमा भन्सार छली गरी नेपाल ल्याइँदै गरेको सामान बरामद - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

काठमाडौं–दिल्ली र बुटवल–दिल्ली चल्ने बसमा भन्सार छली गरी नेपाल ल्याइँदै गरेको सामान बरामद



बेलहिया नाकाहुँदै काठमाडौं–दिल्ली र बुटवल–दिल्ली चल्ने यात्रुबाहक बसमा भन्सार छली गरी नेपाल ल्याइँदै गरेको सामान बरामद भएको छ।

शुक्रबार चेकजाँचका क्रममा भन्सार कर्मचारीले लाखौं मूल्य बराबरका कपडा, हार्डवेयर र मदिरा बरामद गरेका हुन् ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले कार्यालयलाई प्राप्त विशेष सूचनाका आधारमा जेकजाँच गर्दा ना. ६ ख ४०३३ नं. को बसबाट लत्ताकपडा तथा लु.१ ख ८५५६ नम्बरको बसबाट कपडा, हार्डवेयर र रक्सी बरामद गरिएको बताए।

कार्यालयले नियमित चेकिङ गर्ने क्रममा बसको भित्रपट्टी सिटमुनी र केही बसको तलपट्टी अतिरिक्त ठाउँ बनाएर नटबोल्ट लगाई ल्याइएको अवस्थामा सामान बरामद गरिएको उनले बताए। बरामद गरिएको सामानको मूल्य करिब १५ लाख बराबर छ।

भन्सार कार्यालयका अनुसार बरामद गरिएका सामानमा जाडो मौसममा लगाउने स्वीटर, ज्याकेट, कुर्ता सलवार र सारी रहेका छन् । यस्तै साना गाडीमा प्रयोग गरिने पाटपुर्जा र हार्डवेयरका सामान तथा महंगा मूल्यका मदिरा समेत रहेका छन् ।

बरामद गरिएको सामान बसमा सवार यात्रु कसैले पनि आफ्नो भएको नस्वीकारेपछि सामान जफत गरिएको छ भने चालकसहित बसलाई भन्सारको नियन्त्रणमा राखिएको छ ।

अवैध सामान आयातमा नियन्त्रणमा रहेका चालक र बस धनीको संलग्नताबारे अनुसन्धान गरी आवश्यक कारबाही गरिने सूचना अधिकृत पौडेलले जानकारी दिए ।

नेपालबाट दिल्ली चल्ने यी बसहरुमा विगतदेखि नै अवैध सामान आयात हुँदै आएको छ ।

सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कर्मचारी, नजिकै रहेको ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल डण्डाले केही व्यवसायीसँगको मिलेमतोमा अवैधरुपमा सामान तस्करी गर्दै आएका छन्। यसअघि पनि गत साउनमा काठमाडौं–दिल्ली चल्ने ना.६ ख ४०३३ नम्बरको बसले भन्सार छलेर ल्याएको लाखौं रुपैयाँ पर्ने हार्डवेयरका सामान बरामद गरिएको थियो।