६ महानगर- काठमाडौं बाहेक सबैमा गठबन्धनको कब्जा - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

६ महानगर- काठमाडौं बाहेक सबैमा गठबन्धनको कब्जा



देशभरका ६ महानगरमा मतगणना जारी रहँदा पाँच महानगरमा सत्तारुढ गठबन्धन अघि छ। आइतबार बिहानको पछिल्लो अपडेट सबैभन्दा ठुलो महानगर काठमाडौंमा स्वतन्त्र उम्मेदवार अघि छन्।

काठमाडौंमा वालेन अघिको अघि
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २ हजार ७१ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार १६४ र गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६ मत पाएकी छन्।

चितवनमा रेनु झिनो मतले अघि
चितवनको भरतपुर महानगरको २९६८ गन्दा माओवादीकी नेतृ रेनु दाहालले ११०५ मत प्राप्त गरेकी छिन्। उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन्। नेकपा एमालेका उम्मेदवारले १००७ मत पाएका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्।

ललितपुरमा चिरिबाबुले अग्रता फराकिलो बनाउँदै
ललितपुर महानगरको मेयरमा गठबन्धनका साझा उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अंकले अग्रता बढाएका छन्। १४०० मत गनिसक्दा चिरिबाबुले ७०६ मत पाएका छन्। यता नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३३६ मत मात्र पाएका छन्।

पोखरामा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ। जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गरेका छन्।

विराटनगरमा पनि गठबन्धन अघि
विराटनगर महानगरपालिकामा कांग्रेस मेयरका उम्मेदवार नागेश कोइरालाले दुई हजार चार सय ७४ मत ल्याएका छन्। एमालेका उम्मेदवार सागर थापाले एक हजार नौ सय ६५ मत ल्याएका छन्। जनता समाजवादी पार्टीबाट गठबन्धनका बागी बनेका उमेशकुमार यादवले एक सय ११ मत मात्र पाएका छन्।

वीरगन्जमा फराकिलो अन्तर
पर्साको वीरगन्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्। उनका निकटतम प्रतिस्पर्धा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त गरेका छन्।