काठमाडौंमा मेट्रो रेल बन्छ :प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

काठमाडौंमा मेट्रो रेल बन्छ :प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्।

मदन भण्डारी स्मृति बाटिकाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार देश बनाउने संकल्पमा रहेकाले भ्रष्टाचार हुन नदिने र सुशासन तथा पारदर्शिता कायम गर्ने बताए।

उनले भने, ‘बेथितिका अगाडि सरकार झुक्दैन। थिति ल्याएरै छाड्छौं। विकास निर्माणको अभियानमा अब बाधा-व्यवधान नगरौं।’

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे।

उनले भने, ‘कोही–कोही भन्छन् तानाशाहीको लक्षण देखिन थाल्यो, तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धूलो नउड्ने हुन्छन्। छिटै मेलम्चीको पानी आउँदैछ। आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोसीको बिजुली थपिँदैछ। काठमाडौंमा मेट्रो रेल बन्छ। कतिपय त्यत्तिकै आत्तिएका छन्। यस्ता कुतर्कको पछि नलाग्न सबैमा आग्रह गर्छु।’

काठमाडौं–निजगढ’ द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गरिने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाइने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडो सम्पन्न गर्नेगरी काम अघि बढाइने पनि उनले बताए।

प्रधानमन्त्री ओलीले मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिका रुपमा स्थापित नेता भएकाले उनको योगदानलाई देशले भुल्न नहुनेमा समेत जोड दिए।

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जननेता भण्डारी कम्युनिस्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उनले भण्डारीको सालिकसहितको सुन्दर पार्क अनुपम रहेको बताए।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सरकार र निजी क्षेत्रको साझेदारीमा निर्माण भएको यो पार्कले शहरको सौन्दर्य बढाउन महत्वपूर्ण योगदान पुग्ने बताए।

कामनपा–३२ स्थित महादेवस्थन–कोटेश्वरमा तीन रोपनी १३ आना क्षेत्रफलमा पार्क निर्माण गरिएको हो। पार्कमा मदन भण्डारीको पूर्ण कदको सालिक तथा आकर्षक रुख बिरुवासहितका बगैंचा छ। उक्त पार्कको तीन करोड २२ लाख रुपैयाँको लागतमा बनाइएको हो।