कर्मचारीको मिलेमतोमा अबैध काठ तस्करी , सालको गोलिया सहित २ वटा ट्याक्टर नियन्त्रण - Himal Post Himal Post
  • १६ पुष २०८१, मंगलवार
  •      Tue Dec 31 2024
Logo

कर्मचारीको मिलेमतोमा अबैध काठ तस्करी , सालको गोलिया सहित २ वटा ट्याक्टर नियन्त्रण



सुखड,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका -३ बाट अबैध काचो सालको गोलिया सहित २ वटा ट्याक्टर शुक्रबार राती पक्राउ परेका छन् ।

राती ८ बजे से २ त ११८५ र से १ त ७२८७ नम्बरको ट्याक्टरमा अबैध काँचो सालको ११ थान गोलिया लुकाइछिपाई लैजादै गरेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि नियन्त्रणमा लिएका हुन् । सोही वडामा रहेको साइनिङ्ग स्टार युवा क्लब र स्थानीयको सक्रियतामा २ ट्राली सालको गोलिया सहित ट्याक्टरलाई नियन्त्रणमा लिइएको एक स्थानीयले बताए ।

ट्याक्टर पक्राउ परेपछि चालक भने ट्याक्टर छोडेर फरार रहेको स्थानीयले बताएका छन् । त्यसलगत्तै रामपुर रेन्जर पोस्ट बौनिया, सेक्टर बन कार्यालय लम्की र सबडिभिजन कार्यालय पहलमानपुरबाट गएको गस्ती टोलीले राती नै ट्याक्टरलाई नियन्त्रणमा लिएको र उक्त नियन्त्रणमा लिएको ट्याक्टरलाई सब डिभिजन बन कार्यालय सुखडमा राखिएको छ । नियन्त्रणमा लिइएको काठ ६८.४७ क्युफिट रहेको सब डिभिजन बन कार्यालय सुखडले जनाएको छ ।

उक्त घटनामा बन कर्मचारीले नै तस्करमा संलग्नलाई उम्काउन खोजेको स्थानीयहरुले आरोप लगाएका छन् । खुल्ला अबैध तस्करी भइरहदा समेत सामुदायिक बन समितिका पदाधिकारी मुखदर्शक भएको उनीहरूले बताएका छन् । काठ तस्करीमा संलग्नले स्थानीय युवा क्लबलाई केही रकम दिने भन्दै छोडिदिन करीब १ घन्टासम्म बार्गेनिङ गरेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले बताएका छन् ।

पछिल्लो समय कैलालीका विभिन्न ठाउँका सामुदायिक बनबाट काठ तस्करी बढ्दै गइरहेको छ । केहि दिन अघिपनी घोडाघोडी नगरपालिका -९ शिखरझालामा विशेष सुराकीको आधारमा परालले छोपी लुकाइराखेको अवस्थामा सालका ७ थान गोलिया फेला परेको थियो ।