प्रचण्डले कसलाई भने सामन्ती र निरंकुशतावादी ?
काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हो कि भन्ने खतरा पैदा भएको बताएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको उनले बताएका छन् ।
तमू (गुरुङ) समुदायको तमू ल्होछार/ल्होसार, किरात समुदायको उधौली र योमरी पुन्हिको अवसरमा दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको छ ।’
आ-आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन दाहालले आग्रह गरेका छन् ।
उपलब्धी गुम्न नदिन एकतावद्ध भएर आन्दोलनमा लाग्न र आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको उनले उल्लेख गरेका छन् ।
![](https://himalpost.com/wp-content/uploads/2020/12/prachanda-note-594x768.jpg)