कास्की २ को कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको भागमा - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

कास्की २ को कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको भागमा



काठमाडौं– नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो कात्तिक १७ गते लगाउने भएको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले १७ गते उम्मेदवारको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ।

शीर्ष तहका नेताहरुको बैठकले उपनिर्वाचन हुने जिल्लामा खटिएका प्रतिनिधिहरुसँग जिल्लाको वस्तुगत विवरण लिएका छन्। जारी बैठकबारे जानकारी गराउँदै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पहिलो र दोश्रो चरणको जागरण अभियानमा जिल्लामा खटिएका प्रतिनिधिहरुको व्रिफिङ पदाधिकारीहरुले सुन्नुभएको छ।’

प्रतिनिधि सभा अन्तर्गतको कास्की सहित प्रदेश सभा सदस्यमा निर्वाचन हुने बागलुङ,दाङ र भक्तपुरमा खटिएका प्रतिनिधिहरुले नेतृत्वलाई जानकारी गराएका हुन्।

शीर्ष तहका नेताहरुले छलफलले उम्मेदवारको टुंगो भने आज लगाउने छैन। उपनिर्वाचनका एजेण्डामाथि छलफल गर्नको लागि शुक्रबार केन्द्रीय समितिको बैठक डाकिएको छ। शुक्रबारको केन्द्रीय समितिको बैठकले पदाधिकारीलाई नै उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी दिने बताइएको छ।

सभापति देउवाले कास्की २ को उम्मेदवारीका विषयमा जिल्ला कार्यसमिति कास्की र आकांक्षी उम्मेदवारसँग कात्तिक १६ मा छलफल गर्ने बताइएको छ। सोही दिन वरिष्ठ नेता पौडेलको गृहजिल्ला तनहुँमा देउवा पुग्नेछन्।

देउवा र पौडेलबीच कात्तिक १६ मा तनहुँमा कास्की २ को उम्मेदवारको नाममा सहमति हुनेछ। सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच बनेको सहमतिलाई १७ गते बस्ने पदाधिकारी बैठकले अनुमोदन गर्ने पार्टी स्रोतले जानकारी दिएको छ।

कास्की २ को लागि आकांक्षी १६ उम्मेदवारको नाम जिल्लाबाट केन्द्रमा पठाइएको छ। पार्टीले सम्भावित तीन जनाको नाम केन्द्रमा पठाउन निर्देशन जारी गरेको थियो।

पदाधिकारी सहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागी बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको थियो।