कक्षा–कक्षामा जिशिअ - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

कक्षा–कक्षामा जिशिअ



हिमाल पोस्ट /माघ २८ 

शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी दोलखाका जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन व्यस्त छन् ।नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछेवा कक्षा कोठामा पुग्ने गरेका छन् ।

विद्यालयको शैक्षिक अवस्थाको निरीक्षण एवम् अनुगमन गर्ने क्रममा जिशिअ काशीछेवाले शैक्षिक अवस्थाको छड्के जाँच गरी अपुग कुरा विद्यार्थीलाई सिकाउने गरेका छन् । जिशिअले टोलीमा विषयगत विशेषज्ञ र स्रोत व्यक्ति लिएर जाने हुँदा विषयगत समस्या समाधान गर्न सजिलो भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।

‘जिल्लाको सिकाइ उपलब्धि जसरी भए पनि वृद्धि गर्नुपर्ने चुनौती आजका शिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारीमा रहेकाले विद्यालय निरीक्षण दौडाहा कार्यक्रम अभियानका रूपमा अगाडि बढाएको हो,’ जिशिअ काशीछेवाले भने ।  शैक्षिक सुधारका लागि शिक्षाका तीन खम्बा शिक्षक, विद्यार्थी र अभिभावकलाई नै सचेत र क्रियाशील गराउन गाउँगाउँ पुग्ने गरेको जिशिअ काशिछेवाको भनाइ छ ।

विद्यालयमा प्रधानाध्यापक भए नभएको छड्के रूपमा शिक्षकहरूलाई टेलिफोन गर्ने र को शिक्षक छैन प्रअलाई निरन्तर रूपमा फोन गर्ने अभियान जिशिअ काशीछेवाले चलाएका छन् ।

जिल्लामा सञ्चालित निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको सिकाइ उपलब्धि धेरै नै न्यून रहेकाले जिल्ला शिक्षा कार्यालयको यो अभियानले यी विद्यालयको अन्तरलाई केही हदसम्म कम गर्ने शिक्षाविद् प्रदीप मानन्धरले बताए ।

मानन्धरले भने, ‘हरेक जिशिअले यही  शैक्षिक गतिमा अघि बढ्ने हो भने सरकारले अपेक्षा गरेको शैक्षिक उपलब्धि सहज रूपमा हासिल हुनेछ ।’ काशीछेवा जिल्ला शिक्षा अधिकारीका रूपमा दोलखामा आएपछि शैक्षिक सुधारका गतिविधि उल्लेख्य रूपमा अगाडि बढिरहेको राजकुलेश्वर निमाविका शिक्षक सहायक प्रधानाध्यापक बलराम शिवाकोटी बताउँछन् ।आजको राजधानी दैनिकमा खवर छ ।