कसरी फैलियो प्रधानमन्त्रीविरुद्ध अविश्‍वास प्रस्ताव लैजाने खबर ? - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कसरी फैलियो प्रधानमन्त्रीविरुद्ध अविश्‍वास प्रस्ताव लैजाने खबर ?



काठमाडौं- सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच भेटघाट र बोलचाल नभएको झण्डै दुई साता भयो । यसबीचमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न बोलाए पनि प्रचण्ड बालुवाटार गएका छैनन् ।

तर, यही बीचमा प्रचण्डले नेता माधव नेपालसँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविस्वास प्रस्ताव ल्याउने तयारी गरको हल्ला भने बालुवाटार पुगेको छ । एकाएक फैलिएको यो हल्लाले बालुवाटार र खुमलटारबीचको सम्बन्ध झन् चिसिएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले खुमलटारबाटै समानान्तर पार्टी सञ्चालन गरिरहेको र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको भन्ने कुरा ओलीका विश्वासपात्रले नै बालुवाटार पुर्‍याएको प्रचण्ड–नेपाल पक्षको आरोप छ । यसमा कुनै सत्यता नभएको भन्दै प्रचण्डले ओली पक्षीय नेतालाई विश्वास दिलाउन खोजेको भएपनि बालुवाटारले यो कुरामा अझै शंका गरेको छ ।

प्रधानमन्त्रीले पछिल्लोपटक मन्त्रीपरिषद हेरफेर गर्दा एकलौटी गरेको, पार्टीको कर्णाली प्रदेशको विवादलाई आफ्नै ढंगले पत्राचार गरेको र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयललाई आफैंले काठमाण्डौं बोलाएर सुटुक्क भेट गरेको जस्ता विषयले दुई अध्यक्षबीचको सम्बन्धमा अविश्‍वास बढेको नेकपाका एक नेता बताउँछन् । दुई अध्यक्ष बिच दुरी बढाउने काम दुबै तर्फका अध्यक्षनिकट भनिएका नेताले नै गरिरहेको भन्दै ओली र प्रचण्डको नजिक छु भन्ने केही सदस्यले नै पार्टी विघटन गराउने षड्यन्त्र गरिरहेको कार्यकर्ताको बुझाई छ ।

भित्र विवाद बढ्दै गएपछि नेताहरुबीच भेटघाट, बोलचाल र टेलिफोन संवाद समेत नहुनु दुखःद भएको भन्दै रामकुमारी झाँक्रीलगायत नेकपाका केही युवा नेताहरुले पार्टी विभाजन हुने हो कि भन्‍ने आशंका गर्न थालेका छन् । बालुवाटारका विरुद्ध खुमलटारमा बैठक र छलफल भएको भन्ने झुठो खबर प्रधानमन्त्रीकै दूत बनेर प्रचण्ड भेट्न पुगेका अर्थमन्त्री विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नै फैलाएको भन्ने शंका प्रचण्ड–नेपाल पक्षले गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सम्बन्ध जोड्न भन्दै केही दिनदेखि बालुवाटारको दूत बनेर पौडेल र पोख्रेल प्रचण्ड निवास आउजाउ गरिरहेको स्रोतको दाबी छ । यता प्रचण्डको सन्देश बालुवाटार पुर्‍याउने काम नेकपा नेता जनार्दन शर्मालाई दिइएको भएपनि शर्मा बालुवाटार जान इच्छुक नभएकोले नेपाल पक्षका नेता तथा कृषि मन्त्री घनश्याम भूषाललाई प्रचण्ड–नेपाल पक्षको सन्देश ओली सम्म लैजाने जिम्मा दिईएको स्रोतको भनाई छ ।