कर्णाली तनाव: प्रदेशको विवादले सिङ्गो पार्टीमा खैलाबैला - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

कर्णाली तनाव: प्रदेशको विवादले सिङ्गो पार्टीमा खैलाबैला



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको स्रोतले बताएको छ ।

उनले नेपाल समूहबाट तीनजनालाई स्थान दिने तयारी गरेका बेला ओलीले आफू निकट मन्त्री दल रावल र नन्दसिंह बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएको पार्टी स्रोतले बतायो।

यता मन्त्री रावलले आइतबार सामाजिक सञ्जालमा भनेका छन्,‘ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’

मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् । उनले शनिबारै केही मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएकाले ओली पक्षका मन्त्रीहरूलाई हट्न आग्रह गरेका थिए ।

‘मलाई माथिबाट दबाब आयो । अहिले तपाईंहरू बिदा हुनुपर्छ कि भन्ने आशय व्यक्त गर्नुभयो,’ प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले भने । उनले आफूले राजीनामा नदिने बताए । कसरी अगाडि बढाउने भन्ने मुख्यमन्त्रीकै हातमा रहेको पनि जानकारी दिए ।

“मुख्यमन्त्रीलाई थाहा होला, उहाँले कसरी लैजानुहुन्छ, के गर्नुहुन्छ,” उनले भने, “मैले हिजो मुख्यमन्त्रीसँग भएको कुराकानीलाई लिएर बिदा नै हुनुपर्ने होला भन्ने लागेर फेसबुकमा लेखेको हुँ ।”

“व्यक्ति गौण कुरा हो फेरिइरहन्छन् । पार्टीकै कुरा हो,” उनले भने, “मुख्यमन्त्रीको कदमले कर्णाली प्रदेश र सिङ्गो पार्टीलाई नै तलमाथि पार्ने हो कि भन्ने चिन्ता हो ।”

उनले केन्द्रबाट कसैले पनि राजीनामा दिन नभनेको पनि बताए । केही नबिगारेको अवस्थामा राजीनामा दिनुनपर्ने नेताहरूले बताएको रावलको भनाइ थियो ।