सर्वोच्चको आदेशले कर्णाली सरकार स्पष्ट बहुमतमा - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सर्वोच्चको आदेशले कर्णाली सरकार स्पष्ट बहुमतमा



सुर्खेत्- नेकपा एमालेका ४ सांसदलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि कर्णाली प्रदेशको सरकार स्पष्ट बहुमतमा पुगेको छ । अब महेन्द्रबहादुर शाहीले नेतृत्व गरेको गठबन्धन सरकार स्पष्ट बहुमतमा पुगेको हो ।

माओवादी–कांग्रेसबीचको सत्ता समीकरण थप बलियो हुने देखिएको छ । सर्वोच्चको आदेशपछि ४० सदस्यीय कर्णाली प्रदेश सभा अब ३५ मा झरेको छ ।

सोमबार सर्वोच्च अदालतले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णयलाई अन्तरिम आदेशबाट मान्यता दिएपछि यस्तो अवस्था आएको हो ।

यसअघि माओवादी केन्द्रले आफ्ना सांसद धर्मराज रेग्मीलाई पदमुक्त गरिसकेको छ । अब कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

गत वैशाख ३ गते संसदीय दलको निर्देशनविपरीत मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले चारजना सांसदलाई पदमुक्त गरेको थियो । त्यसको भोलिपल्ट मुख्यमन्त्री शाहीले ज्वाला बाहेकलाई मन्त्रीमा नियुक्त गरेका थिए । सर्वोच्चले जेठ २७ गते पदमुक्तको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सोमबार प्रधानध्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजालासले उक्त आदेश खारेज गरेको हो । सांसदबाट पदमुक्त भएका मन्त्रीलाई वर्तमान गठबन्धनले सरकारमा निरन्तरता दिन्छ कि दिँदैन भन्नेबारे अहिल्यै स्पष्ट धारणा बाहिर आइसकेको छैन ।