कर्णालीका कुन कुन आयोजना बजेटमा समेटिए - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

कर्णालीका कुन कुन आयोजना बजेटमा समेटिए



काठमाडौं- आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भएको छ । संसद विघटन भएपछि अध्यादेशमार्फत ल्याइएको बजेटमा कर्णालीका धेरै आयोजना समेटिएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटमा कर्णालीमा संचालनमा रहेका पुराना आयोजनामा स्तरोन्नतिलगायतका काम गर्ने बताएका छन् । बबइ–छिन्चु, सुर्खेत–दैलेख सडकको सुरुङ मार्ग अध्ययन गर्ने बताएका छन् । कर्णाली प्रदेश सरकारले यी दुई ठाउँमा आर्थिक वर्ष २०७६/०७६ मा ल्याएको प्रदेश बजेट भाषणमा उल्लेख गर्दै आएको थियो । तर, प्रदेश सरकारले प्रत्येक वर्षको बजेट भाषणमा ल्याउने गरेको भए पनि कार्यान्वयन गर्न सकेको थिएन । अहिले संघीय सरकारले नै बजेटमा उल्लेख गरेको छ ।

कर्णालीमा रहेको राष्ट्रिय गौरवको आयोनाका रूपमा रहेको भेरी बबइ ड्राइभर्सन आयोजना आगामी दुई वर्षमा सम्पन्न गरिने छ । यसका लागि थप तीन अर्ब रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।

जुम्लामा स्याउ रोप्ने किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिने, डोल्पाको दुनै बजार नदी कटान नियन्त्रण गर्न बजेटको विनियोजन गर्नका लागि सरकारको बजेटको प्राथमिकतामा परका छन् ।

रारा ताल, से–फुकोण्डो ताल, हुम्लाको लिमीको पर्यटन मार्ग निर्माण गरिने, मुगुको छायानाथ र सुर्खेतको काँक्रेबिहार क्षेत्र बिस्तृत पर्यटन गुरुयोजना पनि प्राथमिकतामा परेका छन् ।

कर्णालीमा ऊन उत्पादन उद्योग, हुम्लाको यारीमा सुख्खा बन्दरगाह निर्माण गरिने, कर्णालीमा चामल र नुन ढुवानीका लागि ७६ करोड अनुदान, सुर्खेत मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्ती, जुम्लामा हाइअल्च्यिुट रंगशाला पनि बजेटको प्राथमिकतामा परेका छन् ।

भेडाबारी–धुलियाबिट–सुर्खेत सडकखण्डको निर्माण गरिने, कोहलपुर सुर्खेत राजमार्गका दुई लेनको बनाउने, सुर्खेतदेखि कालीकोटको खुलालुसम्म दुई लेन सडक, हुम्लामा सदरमुकाममा आगामी वर्षमा सडक पुर्‍याउने लक्ष्य, भेरी करिडोर स्तरोन्नति, नाग्म-गमगढी सडकको स्तरोन्नति गर्ने लक्ष्य बजेटमा उल्लेख गरिएको छ ।

बबइ–छिन्चु, सुर्खेत–दैलेख सडकको सुरुङ मार्ग अध्यायन गर्ने बजेटमा उल्लेख गरिएको छ । फुकोट कर्णालीको आयोजना अगाडि बढाइने, वेतन कर्णालीका लगानी तयारी गर्ने लक्ष्य पनि बजेटले राखेको छ ।