कर्मचारी समायोजनमा बेथिति : रिटायर्ड भैसकेका कर्मचारीको पनि समायोजन - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

कर्मचारी समायोजनमा बेथिति : रिटायर्ड भैसकेका कर्मचारीको पनि समायोजन



काठमाडौं । कर्मचारी समायोजन प्रक्रिया गलत भएको बताउँदै फाराम नै नभरेका कर्मचारीसमेत समायोजनमा परेपछि आश्चर्यमा परेका छन् ।

त्यतिमात्र होइन रिटायर्ड नै भइसकेका कर्मचारीले समायोजनमा आफ्नो नाम देखेपछि भने अझै चकित परेका छन् ।

एक सेवा निवृत्त भइसकेका कर्मचारीले हाम्राकुरालाई भने, ‘मेरो पनि नाम छ भनेरर साथीहरुले सुनाएका थिए, जिस्किएका होलान् भनेर ध्यानै दिइन, पछि त धेरै जनाको फोन आएपछि पो अचम्म लागेर नतिजा हेरें ।’

अचम्म त यो छ कि अनलाइनबाट फाराम भर्नुपर्ने थियो संख्या बढाउनका लागि सरकारी तहबाटै यस किसिमको चाल भएको हुन सक्छ ।

संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन प्रक्रिया गलत ढंगले भइरहेको भन्दै कर्मचारीहरुले विरोध गर्दै आइरहेका छन् ।

एक कर्मचारीले भने, ‘स्थानीय तहमा जाँदा एक तह बढुवासमेत गरिएको छ, घर पायक त्यसमाथि पनि बढुवा, अनि संघमा रहनेलाई कुनै पनि सुविधा छैन, यो अन्याय हो ।’

कर्मचारी भनेपछि समान हुनुपर्ने हो । तर यो त्यस्तो मुलुक हो जहाँ भन्सारमा काम गर्ने र राजस्वमा काम गर्ने कर्मचारीलाई भत्ता दिएर खटाइन्छ ।

अनि हुलाक जस्तो त्यस्तो ओइलाउन लागेको कार्यालय जसको काम हराउन थालिसकेको छ त्यहाँ कर्मचारीहरु कामविहीन हुँदै सजाय दिइएका कैदी जस्तै लाग्छन् ।

समायोजनलाई अझै दुई साता लाग्ने
कर्मचारी समायोजनलाई अन्तिम रुप दिन थप दुई साता लाग्ने भएको छ । यसअघि फागुन ३ गतेसम्म समायोजन प्रक्रिया टुंग्याउने लक्ष्य राखिएपनि बिभिन्न समस्या देखिएकाले तोकिएको अवधिमा समायोजन कार्य पुरा गर्न कठिनाई भएको भन्दै मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले दुई हप्ताको समय थप लाग्ने बताएका छन् ।

समायोजन रोजेका कर्मचारीको राष्ट्रिय किताबखानामा विवरण नमिलेकोले समायोजनमा ढिलाइ भएको बुझिएको छ ।

झण्डै ७७ हजार कर्मचारीमध्ये हालसम्म करिब २३ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिएको छ ।

मन्त्रालयका अनुसार हाल हाल ९० हजार १ सय १६ जनाको दरबन्दी छ । तीमध्ये न्याय, परराष्ट्र र महालेखाका करिब ४ हजार कर्मचारी समायोजनमा सहभागी हुनु पर्दैन ।

बांकी रहेका करिब ८६ हजार कर्मचारीमध्ये १३ हजार कर्मचारीले समायोजन फारम भरेका छैनन् ।

समायोजनमा रिटायर्डको समेत नाम हुनु भने दुर्भाग्य नै हो । संख्या बढाउने खेल खेलेर सरकारले आलोचनाबाट बच्ने उपाय निकालेको बुझिन्छ ।

समायोजन नभरेका कर्मचारीको हकमा सरकारले के गर्छ त भनी खुलाएको छैन ।

उनीहरु जहाँ खटाए पनि जानुपर्ने अवस्थामा छन् । मन्त्री लालबाबु पंडितले कर्मचारीलाई आवश्यकता अनुसार खटाउने र जान नमान्नेलाई घर पठाउने बताउँदै आएका छन् ।