निजामती कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउँदै सरकार - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

निजामती कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउँदै सरकार



काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन्।

गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयसँग पहल गरिरहेको बताएका हुन्। उनले सरकारी कार्यालयहरुमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसकेपनि खाजा खाने व्यवस्था मिलाउनु पर्ने बताए। उनले हाल नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरुले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताए।

गृहमन्त्री खाँणले भने, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई उहाँहरु आफैँले ९ देखि ५ बनाइदिनु भएको छ। हेर्दा सजिलो छ। १० बजे पुग्नलाई ९ बजे खानुपर्छ। ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ। अहिले अर्थमन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ। राम्रो प्रस्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन। कम्तिमा हामीले काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकायहरुलाई, गृहमातहतका निकाहरुलाई ओभरटाइम नदिएपनि कम्तिमा खाजा खाने भत्ता त दिनुहोस्।’

गृहमन्त्री खाँणले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताए। सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि गृहमन्त्री खाँडले कर्मचारीहरुलाई निर्देशन दिए। गृहमन्त्री खाँणले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरुको भएकोले जनताको माग बुझेर सरकारलाई दबाब दिन पनि आग्रह गरे।

सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेरअघि बढ्नु पर्ने बताए।