ललितपुरमा बिहानैबाट कर्फ्यु: अटेरी गरे गोली ठोक्न आदेश - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ललितपुरमा बिहानैबाट कर्फ्यु: अटेरी गरे गोली ठोक्न आदेश



काठमाडौं- ललितपुरमा स्थानीय प्रशासनले आज बिहानै देखि कर्फ्यू लगाउने निर्णय गरेको छ । शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म चक्रपथभित्र कर्फ्यू लगाउने निर्णय भएको हो ।

ललितपुरमा शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको प्रशासनले जनाएको छ ।

ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो ।

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा प्रहरीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

बिहीबार ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो ।

सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको छ । यस्तै स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए ।