ह्वीप उल्लंघन गर्ने नेपाल समुहका सांसदहरूलाई तत्काल कारबाही नहुने - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ह्वीप उल्लंघन गर्ने नेपाल समुहका सांसदहरूलाई तत्काल कारबाही नहुने



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २८ सांसदले पार्टी ह्वीप उल्लङ्घन गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथिको मतदानमा ती सांसद अनुपस्थित भएका हुन् ।

अनुपस्थित हुनेमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डेसहित २८ सांसद रहेका छन् । तर तत्कालै कारबाही गर्ने भनेको ओली समुहले भने कारबाही नगर्ने भएको छ ।

उनीहरूले पार्टी ह्वीपको अवज्ञा गरेको भए पनि तत्काल केही कारबाही नहुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएक छन् । उनले आजै कारबाहीको सम्भावना नरहेको बताए ।

प्रधानमन्त्री केपीले पार्टीलाई अदालतको फैसला मुताविक चलाउन तयार नभएको भन्दै खनाल–नेपाल समूहले सुरुमा २४ र पछि १३ घण्टाको अल्टिमेटम दिएको थियो । अल्टिमेटमभित्रमा ओली समझदारीमा नआएका सामूहिक राजीनामाको बाटोमा अघि बढ्ने उनीहरूको उद्घोष थियो ।

तर, आज बिहान बसेको सांसदहरूको बैठकले अनुपस्थित हुनु नै उत्तम विकल्प भएको निचोड निकालेको थियो । ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र पार्टी एकता पनि जोगाउने रणनीतिअनुसार नै अुनपस्थितको विकल्प अघि सारेको सांसद मेटमणि चौधरीले जानकारी दिए ।