कानुनी परामर्शमा जुटे प्रचण्ड-नेपाल समूह
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष पुष्पकमल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूह कानुनी परामर्शमा जुटेको छ ।
स्रोतका अनुसार बिहिबार बिहान प्रचण्ड-नेपाल समुहका केहि नेता र उनीहरू निकट कानुन ब्यबसायीहरुसँग पार्टी कार्यालय पेरिसडाँडामा परामर्श गरेका थिए । प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्टि बढेको र पार्टी नै बिभाजन हुने हल्लाबीच उनीहरू परामर्शमा जुटेका हुन् ।
बिहिबार बिहान भएको परामर्शमा प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत उपस्थित भएको स्रोतले जनाएको छ ।
विकराल परिस्थितिमा प्रधानमन्त्रीले चाल्नसक्ने सम्भावित कदम र अबको निकाशबारे छलफल भएको बताइएको छ । महामारीको बहानामा प्रधानमन्त्री ओलीले उठाउन सक्ने कदमको समेत कानुनी छलफल गरेको स्रोतले बताएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेको, पार्टी र सरकारमा एकालौटी ढंगले अघि बढेको विषयमा प्रचण्ड, नेपाल, झलनाथ खनालसमूह असन्तुष्ट छन् ।
पार्टीमा संकट देखिएकै बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक नै डाकेर मुलुकमा ठुलो संकट आउनसक्ने भन्दै सबैलाई तयार रहन आग्रह गरेका थिए । उता प्रदेश १ अन्तर्गत आफू निकट नेताहरूको भेला राखेर प्रधानमन्त्री ओलीले बुधबार साँझमात्रै पार्टी बिभाजन हुनसक्ने भन्दै त्यसको तयारीमा जुट्न आग्रह गरेका थिए ।