कानुन मिच्दै देउवा सरकार: झलनाथलाई २४ लाख पेस्की
काठमाडौं- शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुशासनको आशा गरेका नागरिकमा निरन्तर निराशा छाउन थालेको छ । देउवा प्रधानमन्त्री लगत्तै गरिएका पछिल्ला केहि निर्णय नै विवादित बनेका छन् ।
सरकारले सुरक्षा कार्यविधि लत्याउँदै पूर्व विशिस्टहरूलाई थपेको सुरक्षाको आलोचना सेलाउन नपाउंदै पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको उपचारका लागि सरकारले खर्च बेहोर्ने घोषणा गरेपछि चौतर्फी विरोध भैरहेको छ ।
यसैबीच सरकारले उनको उपचारको लागि २४ लाख पेस्की उपचार खर्च उपलब्ध गराइसकेको छ । अर्थ मन्त्रालयका अनुसार १५ लाख भारतीय रुपैया (नेपाली २४ लाख) सरकारले एपोलो अस्पतलालाई भुक्तानी दिइसकेको छ ।
सरकारले कानूनविपरित पूर्वपधानमन्त्री खनालको सम्पूर्ण उपचार खर्च व्योहोर्ने निर्णय गरेको थियो । जनस्वास्थ्य ऐन, २०७५ अनुसार विदेशमा उपचार गर्ने कसैलाई पनि राज्यकोषबाट उपचार खर्च नदिने व्यवस्था छ ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले जाँदाजाँदै १७ असारमा खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारले रकम भुक्तानी गरेको हो ।
यो विषयमा अहिले चौतर्फी विरोध भैरहेको छ । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस नेता गगन थापाले यो गैरकानुनी भएको बताएका छन् ।
उनी स्वास्थ्यमन्त्री बनेकै बेलामा यो कार्यविधि ल्याइएको थियो ।