कांग्रेसले १०० सिट र एमालेले ८७ सिट जित्ने
काठमाडौं-
निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले जित-हारको चुनावी आकलन गर्न सुरु गरेका छन् । कांग्रेसले १०० सिट कटाउने र एमालेले ८७ सिट जित्ने दाबी गरेका छन् । यता माओवादी केन्द्र भने आन्तरिक रिपोर्ट पर्खंदै छ ।
प्रमुख दलहरूले आन्तरिक रूपमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले जित्ने सिट संख्याबारे आकलन गर्न थालेका छन् । दुई चरणमा गरी प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमा निर्वाचन हुँदै छ । प्रमुख दल र क्षेत्रीयस्तरका दलले जित्न सकिने निर्वाचन क्षेत्रको पहिचान गरेका छन् ।
यो खबर आजकोनयाँ पत्रिकाले लेखेको छ, संविधानसभाको ठूलो दल कांग्रेसले एक सयभन्दा बढी सिट जितेर फेरि पनि ठूलो दल बन्ने दाबी गरेको छ । उता, माओवादीसँग गठबन्धन गरेको एमालेले प्रत्यक्षतर्फ एक्लै स्पष्ट बहुमत ल्याउने दाबी गरेको छ । प्रतिनिधिसभाका १६५ मध्ये ९६ सिटमा मात्रै उम्मेदवारी दिएको एमालेले करिब ९० सिट जित्ने दाबी गरेको छ । माओवादी, फोरम र राजपालगायतले आन्तरिक सर्वेक्षण गर्दै छन् ।
१०० सिट कटाउने कांग्रेस दाबी
कांग्रेसको आन्तरिक सर्वेक्षणले सयभन्दा बढी सिटमा जित हुने देखाएको छ । ६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिने सर्वेक्षणले देखाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘प्रत्यक्षतर्फ कम्तीमा सय स्थानमा जित्ने देखिएको छ,’ तथ्यांक संकलन समितिका संयोजकसमेत रहेका मुख्यसचिव पौडेलले भने, ‘६० स्थानमा जित पक्का रहेको र बाँकी ५० स्थानमा प्रयास गरे जित्न सक्ने देखिएको छ ।’ १६५ क्षेत्रमध्ये कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चार–चार तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग एक–एक स्थानमा तालमेल गरेको छ ।
८७ सिट जित्ने एमाले दाबी
एमालेले उम्मेदवारी दिएका मध्ये ९० प्रतिशत स्थानमा जित्ने बताएको छ । ९६ स्थानमा उम्मेदवारी दिएको एमालेको दाबी सही भएमा उसले ८७ सिट जित्नेछ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका स्थानको ९० प्रतिशत जित्ने गरी रणनीति बनाएर पार्टी अघि बढिरहेको बताए । ‘प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९० प्रतिशत स्थानमा हाम्रो पक्षमा नतिजा आउँछ,’ श्रेष्ठले भने, ‘हामी त्यसभन्दा बढी कसरी जितिन्छ भन्ने रणनीति बनाउन व्यस्त छौँ ।’ वाम गठबन्धनका माओवादीले ६२ स्थान उम्मेदवारी दिएको छ भने सात स्थान साना दल र स्वतन्त्रले लिएका छन् ।
आन्तरिक रिपोर्ट पर्खंदै माओवादी
माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कति स्थानमा जित्छ भन्ने आकलन गरिनसकेको जनाएको छ । प्रवक्ता पम्फा भुसालले टिकट लिएर उम्मेदवारी दर्ता गरेका नेताहरू नफर्किएकाले वस्तुस्थिति पार्टीले बुझ्न नपाएको बताइन् । ‘अहिलेसम्म कति स्थानमा जितिन्छ भन्ने आकलन गरिसकेका छैनौँ,’ भुसालले भनिन्, ‘टिकट लिएर उम्मेदवारी दर्ता गर्न गएका साथीहरू फर्कनुभएको छैन । उहाँहरू एकपटक फर्केपछि वस्तुस्थिति बुझेर आकलन गर्छौँ ।’ एमालेसँग संयुक्त घोषणापत्र नै जारी गरेर चुनावी अभियानमा लागेको माओवादीले प्रतिनिधिसभामा ६२ स्थानमा उम्मेदवारी दिएको छ ।
स्थानीय चुनावभन्दा सुधार : राप्रपा
स्थानीय निर्वाचनको असफलता र पार्टी विभाजनको पीडालाई सुुधार्ने रणनीति राप्रपाको छ । सहप्रवक्ता मोहन श्रेष्ठले अहिले पार्टीको अवस्था सुधारेर चमत्कार देखाउने गरी आफूहरू लागिरहेको बताए । ‘हामी पार्टी विभाजन र स्थानीय तह निर्वाचनमा व्यहोरेको पराजयलाई बिर्साउने नतिजा ल्याउने गरी अघि बढिरहेका छाैँ,’ श्रेष्ठले भने, ‘स्थानीय निर्वाचनमा भन्दा चामत्कारिक नतिजा ल्याउँछौँ भन्नेमा हामी आशावादी छौँ, तयारी पनि त्यहीअनुसारको गरिरहेका छौँ ।’
२ नं. प्रदेशमा बहुमत ल्याउने फोरमको दाबी
तराई–मधेस र पूर्वी पहाडी जिल्लामा पकड रहेको संघीय समाजवादी फोरम तेस्रो शक्ति बन्ने गरी रणनीति बनाएर चुनाव प्रचारप्रसारमा लागिरहेको छ । पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जितिने सिट संख्या तोकेरै भन्न नसके पनि तेस्रो शक्ति बन्ने रणनीतिका साथ प्रचारप्रसार गरिरहेको बताए । ‘प्रदेश नम्बर २ मा सरकार निर्माण गर्न बहुमत पुर्याउने र मुलुकभर प्रतिनिधिसभामा तेस्रो शक्ति हुने रणनीतिका साथ हामी प्रचारमा छौँ,’ श्रेष्ठले भने, ‘ठ्याक्कै यति सिट जित्छौँ त भन्न सकिन्न । तर, स्थानीय तहमा भन्दा नतिजा सुधारेर पार्टीलाई थप सशक्त बनाउने हाम्रो रणनीति हो ।’ फोरमले १७ र राजपाले १५ सिट लिने गरी प्रदेश नं. २ मा दुवै पार्टीले तालमेल गरेका छन् ।
आकलन गर्दै राजपा
मधेसकेन्द्रित दल राजपाले अहिलेसम्म पार्टीले जित्न सक्ने निर्वाचन क्षेत्र कति हुन् भनेर लिस्टिङ गर्न नभ्याएको बताएको छ । पार्टी महासचिव केशव झाले निर्वाचनको प्रचारप्रसारमा दौडिनुपर्ने भएकाले प्राविधिक रूपमा पार्टीको कुन क्षेत्रमा राम्रो छ, कस्तो प्रयास गरे जित्न सकिन्छ भन्ने प्रतिवेदन तयार पार्न नभ्याएको जानकारी दिए । ‘अहिलेसम्म उम्मेदवारी दर्ता र प्रचारप्रसारका जिल्लाजिल्लामा रहेकाले उम्मेदवारको लिस्टिङ र पार्टीले जित्न सक्ने स्थानको पहिचान गर्न भ्याएका छैनौँ,’ झाले भने, ‘केही दिनमा त्यो आकलन गरेर, त्यसैअनुरूप रणनीति बनाउँछौँ ।’ प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमले तालमेलमा उम्मेदवार उठाएका छन् भने राजपाले एक्लै अन्य प्रदेशका मधेसका जिल्लामा उम्मेदवार उठाएको छ ।
उम्मेदवारी दिएका सबै अर्थात् ४ सिट जित्ने राप्रपा प्रजातान्त्रिकको दाबी
पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले प्रतिनिधिसभामा उम्मेदवारी दिएका चार स्थानमा शतप्रतिशत नतिजा ल्याउने बताएको छ । प्रवक्ता राजेन्द्र गुरुङले उम्मेदवारी दिएको शतप्रतिशत स्थानमा जित्ने सुनिश्चित रहेको जानकारी दिए । कांग्रेससँग तालमेल गरेको राप्रपा प्रजातान्त्रिकले सिन्धुपाल्चोक १, चितवन ३, रुपन्देही ३ र धनकुटामा उम्मेदवार बनाएको छ ।