काँग्रेस केन्द्रीय समितिको संयुक्त बैठक आज - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

काँग्रेस केन्द्रीय समितिको संयुक्त बैठक आज



हिमाल पोष्ट / काठमाडौँ,  चैत २५ गते ।  आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सम्बन्धमा छलफल गर्न शुक्रबार नेपाली काँग्रेस संसदीय दल तथा पार्टीका केन्द्रीय समितिको संयुक्त बैठक बस्ने भएको छ ।  संयुक्त बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने नेपाली काँग्रेस संसदीय दलका सचिव धुव वाग्लेले जानकारी दिनुभयो ।
केन्द्रीय नेता महेश आचार्यको संयोजकत्वमा गठन भएको घोषणा तयारी समितिले विभिन्न क्षेत्रका विज्ञ, पूर्वपदाधिकारी, जिल्लाका नेता, पेसागत सङ्घ संंस्थाका प्रतिनिधि, बुद्धिजीवीहरूबाट आएका राय सुझावहरू समेत समेटेर निर्वाचनका लागि तयार गरिएको घोषणापत्रको मस्यौदा माथि बैठकमा छलफल हुने बताइएको छ ।

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिले हालसम्म गरेको कार्य प्रगतिबारे पनि समीक्षा र छलफल हुनेछ ।  यसैबीच ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बिहीबार स्थानीय तह निर्वाचनको लागि गठन भएको प्रचारप्रसार समन्वय उपसमितिको पहिलो बैठक बसेको छ ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहनुभएको उक्त उपसमितिको बैठकले उपसमितिमा थप सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको छ ।  समितिको बैठक शुक्रबार दिनको चार बजे बस्ने पार्टी सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।