कान्छी छोरी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कान्छी छोरी



बा गुनगुन गुनगुन गरिरहन्थे
आमा सुँक्क सुँक्क गरिरहन्थिन
यो क्रम धेरै दिन चल्यो
मलाई लाग्यो,
अब त यिनीहरूको कुरा बुझ्नु पर्‍यो
आख़िर मेरा बा आमालाई के अफ़्ट्यारो पर्‍यो ?!

बाले फाल्ने भन्दा आमा रुन्थिन
आमाले फाल्ने भन्दा बा कराउँथे
महिनाको दुई चोटि चेक गराउँथे
के छ भनेर सोध्न डराउँथे !

बाको मुहार मलिन
आमाको अँध्यारो
सानो पक्कै थिएन
उनीहरुक़ो अफ़्ट्यारो ।

एक दिन सुने
आमाक़ो पेटमा कान लाएर
बा आएका थिए
अलि अलि खाएर
भन्न थाले ‘जे भए नि नराख्ने’
आमाले भनिन ‘नराखे म नरहने’।

बाको चड़कन उनैले थापिन
मेरो धड़कन उनैले नापिन
अनि आमा बोलिन एकै सासमा
‘नरहने भए यो,
म किन रहनु पर्‍यो’ ??

बा मैन झैँ पग्लिए
आमाको काँधमा घोप्टिए
मैले पनि लामो सास फेरेँ
त्यसै रात लाग्यो,
अब त म निश्चय जन्मिएँ ।

ओहो!!
सम्झिँदै कहाली लाग़्दो
त्यो औषधि कड़ा
डाक्टरको कैंची र चिम्टा
चोक्टा चोक्टामा म,
रगताम्मे मरणासन्न
आमाको त्यो पिडा !!

सबबाट मुक्ति मिल्यो
एउटा फुल मेरी आमा भित्र फुल्यो
धन्यवाद बाबा !
कम्ता सकसले भन्नु भयो-
अब त स्वर्गको ढोका खुल्यो ।।

‘जेठी बिहे गर्ने भई
कानछीले भाइ खेलाउँछे’
हजुर आमाको त्यो मनको गणना
हजूरबाको वंशको मौन चाहना !

‘यसपालि त
चेक गराई ढुक्क छन्
त्यसैले त हेर
यी बुडाबुड़ी कति मक्ख छन्’ !

छोरो-छैंठिमा खसी खाने
छिमेकीको रहर
बाजा बजाउने नाच्ने
आफन्तको तरखर ।

सुनाउने हरूले
धेरै थोक सुनाउँदै थिए
म देखदैथें मेरा बा
धेरै थोक गुमाउँदै थिए ।

तर बा ले हिम्मत हारेनन
आमाले आस मारिनन
तेस्रो पटक आमाक़ो पेट चिरियो
मेरो रुवाई जगत्मा गुंजियो ।।

रिसाउने धेरै रिसाए होलान्
सुनाउनेले अनेक सुनाइ रहलान,
ए जमात,
तिम्रा वंशवादलाई
चुनौती दिन आएकी हुँ म
तिम्रा हरेक निर्मम
प्रहार सहन तयार छु म ।

सङ्घर्षको कथा
पेट भित्रै सिकाएर
राम्रो नराम्रो दुनियाँ
त्याहिं भित्रै देखाएर,
बा आमाले
धर्तीमा ल्याएकी
कान्छी छोरी हुँ म,,
तिम्रा वंशवादलाई
चुनौती दिन तयार छु म ।।।

-हेमन्त गिरी,टोकियो (9/10/2016)