कञ्चनपुरमा विद्यार्थीमाथि प्रहरीद्वारा ५ राउन्ड अश्रुग्यास प्रहार - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

कञ्चनपुरमा विद्यार्थीमाथि प्रहरीद्वारा ५ राउन्ड अश्रुग्यास प्रहार



काठमाडौं – बालिका निर्मला पन्तका वास्तविक बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर गेट अगाडि प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले ५ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले मानसिक अवस्था ठिक नभएको नक्कली अभियुक्त पक्राउ गरेर सार्वजनिक गरेको विरोधमा बुधवार विद्यार्थीले प्रदर्शन गरिरहेका छन् । महेन्द्रनगर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत १०–१५ वर्षका विद्यार्थी प्रहरी प्रशासनविरुद्ध प्रदर्शनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रशासन कार्यालय गेट अगाडि प्रहरीविरुद्ध नारावाजी गरेपछि प्रहरीले आक्रमण र धरपकड शुरू गरेको थियो । प्रहरीविरुद्ध नारावाजी गर्ने ३–४ जना विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको प्रदर्शनकारीले जनाएका छन् । विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै नारावाजी गर्ने विद्यार्थीलाई पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगेको जनाइएको छ ।

विद्यार्थीमाथि भइरहेको प्रहरी आक्रमणबारे बुझ्न कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई टेलिफोन गर्दा उनले फोन काटिदिए । प्रहरीले सोमवार पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गरेपछि मंगलवारदेखि महेन्द्रनगर तनावग्रस्त भएको छ । प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले मंगलवार समेत प्रदर्शनकारीमाथि ८ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमवार अपराह्न पत्रकार सम्मेलनमार्फत् निर्मला हत्याकाण्डका अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठिक नभएका विष्टलाई प्रहरी ‘नक्कली’ अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै सर्वसाधारण आन्दोलन भएका छन् । आन्दोलित सर्वसाधारणले सोमवार सदरमुकाम महेन्द्रनगर समेत बन्द गरेका थिए ।

निर्मलाको बलात्कारपछि हत्या भएको २५ औं दिनपछि प्रहरीले घटनाका अभियुक्तको रुपमा विष्टलाई सोमवार सार्वजनिक गरेको थियो । प्रहरीले उनलाई सोमवारै जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रहरीको दाबी छ ।

प्रहरीको दाबीमाथि अविश्वास गर्दै सर्वसाधारणले मुख्य अभियुक्तलाई बचाउन मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाइएको आरोप लगाइरहेका छन् । घटनाबारे मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै कञ्चनपुरबाट निर्वाचित सांसद नरबहादुर धामीले प्रहरीले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाएर मुख्य अभियुक्तलाई बचाउन खोजेको भनेर पत्रपत्रिकामा आइरहेको सन्दर्भमा सत्यतथ्य पत्ता लगाउन माग गरेका थिए ।