कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद पुनः चर्कियो - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद पुनः चर्कियो



कञ्चनपुर । कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एक जना नेपालीको मृत्यु भएको वर्ष दिन नपुग्दै कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि पुनः विवाद सिर्जना भएको छ ।

नेपाली पक्षले सडक फराकिलो बनाउदा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

बेलौरी नगरपालिका–१० सडकघाटमा नगरपालिकाले सडक चौडा बनाउन रकम विनियोजन गरेपछि सडकको चौडाई बढाउने काम भैरहेको थियो ।

नेपालतिरबाट बनाउँदै लगिएको सडक एसएसबीले भारतीय दशगजामा सडक परेको भन्दै अवरोध गरेको छ । नगरपालिकाको सडक फराकिलो बनाउने योजना अन्तर्गत केही दिनदेखि सडकघाटमा निर्माणको काम भइरहेको थियो ।

तर भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा सडक बनाउन अवरोध गरेपछि विवाद उत्पन्न भएको स्थानीय कृष्णप्रसाद शर्माले बताउनु भयो ।

उहाँले आफुसंग रहेको लालपुर्जा देखाउँदै आफ्नो जग्गामा बाटो निर्माण गर्दा भारतीय सीमा सुरक्षा बलले रोक्दा पनि नेपाली प्रशासन भने केही नगरेर बसेको गुनासो गर्नुभयो ।

सदियौ देखि मानिदै आएको नेपाल भारतको सीमानाका भन्दा भित्रपट्टि नेपाली भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षबाट अवरोध हुनु सरासर दादागिरी भएको स्थानीय नेता पल्लब भट्ट बताउनु हुन्छ ।

कंचनपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ बाट विजयी सांसद कुलबीर चौधरीले लामो समयदेखि चल्दै आएको सीमा विवाद अन्त्यका लागि अहिले सीमा सर्भे भैरहेकोले दीर्घकालीन रुपमा समस्याको समाधान हुने बताउनुभयो ।

उहाँले ठूलो माछाले सानो माछालाई खाने भन्दै भारतीय हेपाहा प्रबृत्तिको अन्त्यका लागि आफुले पहल गर्ने दृढता पनि व्यक्त गर्नुभयो ।

उता भारतीय सीमा सुरक्षा बलका कमाण्डेट (इन्स्पेक्टर) एसके सिंहले अहिलेको विवाद सामान्य रहेको बताएका छन् ।

उनले सीमा सर्भे टोलीले सीमाको जाँच गरिरहेकोले सदियौ देखि मानिदै आएको दशगजा भन्दा पर नेपालीले पक्की सडक बनाउँदा पनि आफुहरुलाई कुनै समस्या नरहेको बताए । इनेपाल पोस्टको सहयोगमा