कञ्चनपुरको पुनर्वासमा अबैध कुखुराबाट प्रहरीको कमाउ धन्दा - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

कञ्चनपुरको पुनर्वासमा अबैध कुखुराबाट प्रहरीको कमाउ धन्दा



       तस्करीबाट प्रहरीले महिनावारी रकम असुल्ने गरेको खुलासा

पुनर्वास, कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास सीमा नाका भई भारतीय अवैध कुखुरा बिक्रीका लागि नेपाल भित्र्याउँने तस्करीबाट स्थानीय प्रहरीले रकम असुल्ने गरेको खुलासा भएको छ ।

कञ्चनपुरको बेलौरी आउट पोष्ट सशस्त्र प्रहरी क्याम्प, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थाई प्रहरी पोष्ट आई.बी.आर.डी बाट सीमा नाकाहरुमा गस्ती गरिरहेका केही प्रहरीले समयको मौका छोपेर रकम असुल्ने गरेको खुलासा भएको हो ।

सीमा नाकामा प्रहरी र सशस्त्र तैनाथ भएपनि उनीहरुले उल्टै कुखुरा तस्करहरुको संरक्षण गरिरहेको व्यवसायीहरुले गुनासो गर्ने गरेका छन् ।

इलाका प्रहरी कार्यालयबाट गस्तीमा खटिएका केही प्रहरीले प्रत्येक कुखुरा व्यापारीबाट प्रतिव्यक्ति मासिक १ हजार उठाउने गरेको स्रोतले जनाएको छ । त्यसैगरी अस्थायी प्रहरी पोष्ट पुनर्वास–३ आई. वी. आर. डी. का प्रहरीले पनि मासिक रुपमा व्यापारीबाट मासु तथा ५ सय रुपैयाँ उठाएर लग्ने गरेको बताइएको छ । भने बेलौरी आउट पोष्ट सशस्त्र क्याम्पबाट खटिने प्रहरीले पनि मासिक १ हजार रुपैयाँका दरले रकम उठाउने गरेको स्रोतले बताएको छ ।

सीमामा खटिइएका प्रहरीहरु अवैध धन्दा रोक्नु भन्दा पनि पैसा असुलीका लागि खटिने कुरा सर्वविदितै छ ।
कञ्चनपुरका विभिन्न नाकाबाट छ्याप्छ्याप्ती रुपमा भारतीय अवैध कुखुरा भित्रिने गरेको पीडित किसानहरुले बताएका छन् ।
सस्तो मूल्यमा भित्रिने कुखुराले बजार ओगड्दा एकातर्फ नेपाली किसानको उत्पादन बिक्री गर्न कठिन हुने गरेको छ भने अर्कातर्फ भारतबाट तस्करी भएर आएको कुखुरासँग प्रतिस्पर्धा गर्न नसकिने स्थानीय व्यापारीले दुखेसो पोखेका छन् ।
भारतीय कुखुरा तथा चल्लाको बढ्दो चोरी तस्करीका कारण नेपालको सीमावर्ती क्षेत्र पुनर्वास, बेलौरी लगायत जिल्लाकै कुखुरा व्यवसाय सङकटमा पर्न थालेका छन् ।
जिल्लाको दक्षिणी सिमाना वसही नाकाबाट कार्गिल डाँडा हुदै अंशुबर्मा, मोतिवस्ती, भकुण्डा, चान्देउ हुदै दिनहु हजारौ भारतीय तैयारी कुखुरा, चल्ला र कुखुराजन्य बस्तुको ओसारपसार सहजरुपमा भइरहेको स्थानीय ब्यावसायीहरुले बताए । यसरी अवैधरुपमा भित्रिएका भारतीय कुखुरा र चल्ला दक्षिणी क्षेत्र लगायत जिल्लाका अन्य वजारहरुमा खुलेआम बिक्री हुनुको कारण स्थानीय प्रहरीकै संरक्षणमा भइरहेको कुखुरा पालक किसानहरुले बताए ।

नेपाल भित्रिने यस्ता अवैध भारतीय कुखुरा र चल्लाका कारण जिल्लाका अधिकांश पोल्ट्री फर्म बन्द भइसकेको स्थानीय कुखुरा व्यावसायीहरुको दाबी छ । उनीहरुका अनुसार दक्षिणी क्षेत्रमा एक सय भन्दा बढी पोल्ट्री फार्म सञ्चालनमा छन् तर भारतीय कुखुरा, चल्ला र अण्डाको अवैध आयातका कारण उनीहरुको व्यावसाय धराशयी बनेको छ ।

मूल्यमा देखिएको ठूलो अन्तरका कारण भारतीय कुखुरा तथा चल्लाको चोरी तस्करीमा वृद्धि भइरहेको एक कुखुरा व्यवसायीले बताए । भारतभन्दा नेपालमा कुखुरा उत्पादन लागत बढ्दो छ, जसले गर्दा सस्तोमा उत्पादन भएको भारतीय कुखुरा तथा चल्लासँग नेपाली किसानले मूल्यमा प्रतिस्पर्धा गर्न सकदैनन् र भारतीय कुखुरा आयात गर्नु वाहेक अरु बिकल्प नरहेको समेत उनले स्वीकारे ।

भारतीय सीमावर्ती बजारको तुलनामा यहाँ २० देखि २५ प्रतिशत मूल्य बढी पर्न जान्छ । यसले गर्दा सीमावर्ती क्षेत्रका ग्राहकले नेपाली बजारमा भन्दा भारतीय बजारमा कुखुरा खरीद गर्छन् । ‘‘हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध आयात गर्नै पर्छ’’, एक कुखुरा मासु व्यवसायीले भने– ‘‘महिनामा प्रहरीलाई १ हजारदेखि १५ सय दिए खुला सिमानाबाट अवैध आयात गर्न त्यति अप्ठ्यारो परेको छैन् ।’’
सीमामा खटाएका प्रहरीहरु एउटा रिचार्जमा समेत बिक्ने गरेको कतिपय स्थानीय कुखुरा व्यापारीको आरोप छ ।

सस्तोका नाममा भारतबाट आउँने अवैध कुखुराले किसानहरुको लागत नै उठाउन धौधौ परिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारबाट कुखुरा नेपाल भित्र्याउन पूर्ण रुपमा प्रतिबन्धित रहेको भएतापनि मासिक रुपमा ६० लाख मूख्य बराबरका कुखुरा जिल्लामा भित्रिने गरेको व्यवसायीले बताएका छन् । कञ्चनपुरको पुनर्वास बीच फाँटादेखि बेलौरी बेल्डाँडीसम्मको नाकाबाट दैनिक २५ देखि ३० क्वीन्टल अबैध कुखुरा भित्रिने कुखुरा तस्करले नै बताए । त्यसरी नै कैलालीको बङ्ग्राकटान, जुगेडा, हसुलिया, फूलबारी र रुपडियालगायतका सिमानाबाट पनि दिनहुँ जसो ४ देखि ५ क्वीन्टल भारतीय अबैध कुखुरा भित्रिने गरेको छ ।

१४ नं कटानबाट प्रहरीकै अगाडिबाट भारतीय अबैध कुखुरा भित्रिने गरेको पोल्ट्री तथा माछामासु ब्यबसायी संघ कैलालीका अध्यक्ष जितेन्द्र यादबले बताए । प्रहरीका उच्च ओहदाका ब्यक्तिलाई फोन गरेर जानकारी दिएपछि मात्र सीमामा भारतीय अबैध कु्खुराहरु समातिनु र प्रहरीकै अगाडिबाट निर्वाध रुपमा भारतीय अबैध कुखुरा भित्रिनुले प्रहरीको तस्करहरुसँग मिलोमतो भएको हुन सक्ने अध्यक्ष यादबले बताए ।

भारतीय कुखुरामा जिग्रोमिन नामक छिटो हुर्कने औषधी प्रयोग गरेर बोइलर लगायतका बिभिन्न जातका कुखुरालाई एक महिनामा साढे दुईदेखि तीन किलोसम्मको बनाउने प्रक्रिया अपनाइन्छ भने त्यही औषधी प्रयोग गरेको संक्रमित कुखुराहरु दिनहुँ तस्करीहरुले भारतीय सीमा नाका हुँदै नेपाल भित्र्याउने गरेको पाइएको छ ।
जसका कारण भारतबाट भित्रिने संक्रमित फरक–फरक जातका कुखुराहरुले मानब स्वास्थ्यमा प्रत्यक्ष हानि पु¥याउने भएकोले उपभेक्ताहरुले समयमै सचेतना अपनाउन आवश्यक छ ।

भारतीय सीमा नाका हुँदै नेपाल भित्र्याइने बिभिन्न जातका कुखुराहरुमा लेयरस, ब्रोइलर, कोइलर, प्यारेन्टस् लगायत बिभिन्न जातका कुखुरा भित्रिने गरेका छन् । जुन कुखुराहरु मानव स्वास्थ्यका लागि निक्कै हानिकारक भएपनि नेपाली बजार भने त्यो सहजै बिक्री बितरण हुने गरेका छन् । फलस्वरुप भारतबाट अवैध रुपमा दिनहुँ कुखुरा नेपाल भित्रिने परिपाटीको अन्त्य तथा रोकथामका लागि सरोकारवाला निकायहरुले समयमै ध्यान दिनु अत्यन्तै जरुरी रहेको छ ।

साभार : हेल्लो पुनर्वास दैनिक