कमिसन नमिलेपछि रंगशालामा डोजर - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

कमिसन नमिलेपछि रंगशालामा डोजर



भरतपुर । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार स्थानीय केही व्यक्तिले भत्काएका छन् । बुधबार बिहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको बार भत्काउने क्रममा स्थानीय केही व्यक्तिले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका बताइएको छ । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए । बार भत्काउन प्रयोग गरिएको एक्साभेटर र १६ जना स्थानीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयले झण्डै एक किलोमिटर जति बार भत्काउने क्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको सिमेन्टेड तार जालीसमेत भत्काएका छन् । रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । धेरै पहिलेदेखि सो क्षेत्रमा बाटो चाहिने बताइरहेको भए पनि कसैले सुनुवाई नगर्दा स्थानीयले आफै जेसीभी चलाएका हुन् ।

स्थानीयले बार भत्काएको स्थानमा ७ मिटर फराकिलो सडक रहेको भएपनि केही दिन अगाडि भएको छलफलका क्रममा धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले सडकका लागि १० मिटर जग्गा छोडिदिने बताएका थिए । त्यहाँका केही स्थानीय ठेकेदारले आफूहरुसँग निर्माण सामग्री लिनुपर्ने, केही प्रतिशत स्थानीयलाई कमिसन दिनुपर्ने माग गर्दै साइट कार्यालयमा गई धम्की दिने गरेका फाउण्डेशनका कर्मचारी बताउँछन् ।