अबको विकल्प राप्रपा मात्रै हो: कमल थापा
हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा अगाडि नबढे देशमा अराजकता आउने बताएका छन् । उनले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँको लागि अन्त्य गर्न राप्रपा अघि बढ्नुपर्ने बताए ।
राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले ‘राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणको निम्ति अबको विकल्प राप्रपा मात्रै भएको समेत उनले दाबी गरे ।
कांग्रेस–कम्युनिष्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुकुकको हित नगर्ने समेत ठोकुवा गरे। मुलुकको स्वाधिनता प्रमुख बिषय भएको भन्दै उनले गौरवशाली इतिहासलाई मटियामेट गरेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिन नहुनेमा जोड दिए।
सत्ता,शक्तिको निमित्त भएको लुछाचुढिले मुलुक अन्यौल अनिश्चितता तर्फ धकेलिएको भन्दै थापाले ताजा जनादेश मात्र अबको विकल्प भएको बताए ।
पार्टीको महाधिवेशन, आगामी निर्वाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै थापाले प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा तह सम्म लैजान आग्रह गरे। कार्यक्रममा नब निर्बाचित वडा तहदेखी जिल्ला कार्यसमितिका पदाधिकारी हरुको सहभागीता रहेको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।