कमल थापाको आरोप: प्रचण्डको मानसिकता असन्तुलित छ, सामान्य ज्ञान समेत छैन - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

कमल थापाको आरोप: प्रचण्डको मानसिकता असन्तुलित छ, सामान्य ज्ञान समेत छैन



काठमाडाैं- संबिधान संशोधन विधेयकमाथि छलफल हुँदैगर्दा नेकपाका पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिँदै भनेकोप्रति राप्रपाका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्।

नयाँ नक्सा पारित गर्न बसेको संसद बैठकमा सत्तारुढ दलका अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता गरेको भनेपछि थापाले सामाजिक सञ्‍जालमा प्रतिक्रिया दिँदै प्रचण्डको भनाइ भ्रामक र पूर्वाग्रही भएको बताएका हुन्।

थापाले लेखेका छन्, ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो भन्‍ने प्रचण्डको भ्रामक र पूर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता हो,’ उनले थपेका छन्, ‘१७ हजारको शवमा टेकेर विदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो। नेपालको एकीकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।’

उनले प्रचण्डको यस्तो अभिव्यक्तिले विभाजनकारी सोच प्रत्युत्पादक हुने पनि बताएका छन्। ‘सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमि फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ।’

थापाले थपेका छन्, ‘इतिहासको सामान्य ज्ञानसमेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो? आश्‍चर्य लाग्छ। प्रचण्डको भनाइप्रति खेद व्यक्त गर्दछु।’