साँढे चुनाव चिन्ह पाएका कमल थापालाई लिङ्देनको बधाई - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

साँढे चुनाव चिन्ह पाएका कमल थापालाई लिङ्देनको बधाई



काठमाडौं- पाँच दिनअघि राप्रपा परित्याग गरेका कमल थापा अन्‍नत: राप्रपा नेपालको अध्यक्ष बनेका छन्। राप्रपा नेपाल कमल थापा आफैंले स्थापना गरेको पार्टी हो। पछिल्लोपटक गाई चुनाव चिन्हसहित यो पार्टीले २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो।

अहिले निर्वाचन आयोगमा साँढे चुनाव चिन्हसहित यो पार्टी दर्ता छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा थापालाई बधाई दिएका छन्। ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई’, लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्।

पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीसँग पार्टी एकीकरण गरेपछि थापा राप्रपाको अध्यक्ष बनेका थिए। थापा एकीकरण प्रक्रियामा सामेल भएपनि निर्वाचन आयोगमा राप्रपा नेपालको दर्ता भने खारेज भएको थिएन। यस पार्टीलाई लाक्पा तामाङले नेतृत्व गरिररहेका थिए। लाक्पाले थापालाई अहिले पार्टी नेतृत्व सुम्पिएका हुन्।

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएको छोटो समयमै थापाले पार्टी परित्याग गरेका हुन्। कमल थापा निकट नेता राजाराम बर्तौताले पार्टीको चुनाव चिन्ह निकै भविष्यमै फेर्ने बताएका छन्।