हिजो बन्दुक बोक्‍नेहरुले आज देश लुटेर सिध्याए : कमल थापा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

हिजो बन्दुक बोक्‍नेहरुले आज देश लुटेर सिध्याए : कमल थापा



मोरङ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लामो समयको संघर्ष र त्यागपछि पनि जनताले परिवर्तनको अनुभव गर्न नपाएको बताएका छन्।

मेची महाकाली स्वाभिमान राष्ट्रिय अभियान अन्तर्गत विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा गणतन्त्रको स्थापना भइसक्दासमेत जनताको जीवनस्तरमा कुनै प्रकारको सुधार हुन नसकेको स्पस्ट पारे।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले कम्युनिष्टहरुको दुई तिहाइ सरकार रहदाँ रहदै पनि धनी र गरिबबीचको खाडल थप फराकिलो हुदै गएको आरोप लगाए।

राजनीतिक दलका नेताहरुप्रति तिखो ब्यङ्ग गर्दै उनले भने, “दश वर्षअघि साधारण चप्पलमा जनताको घरमा परिवर्तनको आशासहित बन्दुक बोकेर अघि बढेका नेताहरु रातोरात आज अर्बौंको सम्पत्ति जोड्न सफल भएकाछन्। लोकतन्त्रका आवरणमा उनीहरुले मुलुकमा लुटतन्त्र मच्चाएका छन्। त्यसैको परिणाम चौतर्फी भ्रष्टाचार मौलाएको छ।”

भ्रष्टाचारप्रति कडा रुख अपनाउने बताउदै आएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीप्रति कडा रुपमा प्रस्तुत भएका थापाले सञ्चार प्रदायक संस्था एनसेल कर छली प्रकरण तथा विमान खरिद काण्डका दोषीलाई कठघरामा उभ्याउन चेतावनी दिए।

वर्तमान अवस्थामा समेत जनता निरीह रहेको बताएका नेता थापाले भ्रष्टाचारका जरो स्थानीय तहदेखि केन्द्रीय तहसम्म फैलिएको आरोप लगाए।
उनले भने, ‘यहाँ जो चौकीदार छन् उनै लुटेरा भइरहेका छन्।”

यसअघि करिब एकवर्ष सरकार हुदाँमा संगैकाम गरेको अनुभव प्रधानमन्त्री ओलीसंग रहेको बताएका अध्यक्ष थापाले भने, “राष्ट्रवादी र निर्णय क्षमता लिनसक्ने प्रधानमन्त्री ओली अहिले अलि फरक भएका रहेकाछन्। काम गर्ने क्रममा उनीमाथि कसैको दबाव वा प्रलोभन हुनसक्ने देखिन्छ।”