कमल थापा र बाबुराम भट्टराईको ट्वीटरमा लडाई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कमल थापा र बाबुराम भट्टराईको ट्वीटरमा लडाई



काठमाडौं, । एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा राजनीतिक बृत्तमा पनि यसबारे बहस सुरु भएको छ ।

सोसल मिडियामै राजनीतिक बृत्त पनि बहसमा उत्रिएको हो । यसक्रममा पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापा र पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आमने–सामने भएका छन् ।

‘राप्रपाले हिन्दु राष्ट्रका लागि देशब्यापी आन्दोलन थाल्ने’ शीर्षकको एक समाचारमाथि पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रतिक्रिया जनाउँदै ‘जनताको धार्मिक भावना भड्काएर सत्ता स्वार्थको रोटी सेक्ने कुचेष्टा कसैले नगरुन्’ भनेका थिए । उनले बुधबार ट्वीट गर्दै अगाडि भनेका छन्, ‘म यतिबेला किराँत, हिन्दु र बौद्ध तीनवटै धर्मको साझा तीर्थस्थल हलेसीमा छु । नेपालको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको उच्च नमूना हो यो ।’

उनले धर्मको समवेदनशील विषयमा राजनीति गर्नेहरुको नियति भष्मासुरजस्तो नहोस् भन्ने कामना पनि गरेका छन् ।

डा. भट्टराईको सो ट्वीटमा राप्रपा अध्यक्ष कमल थापाले कडा प्रहार गरेका हुन् । थापाले लेखेका छन्, ‘जनभावना विपरीत विदेशीको दबाब र प्रभावमा धर्मनिरपेक्षता लाद्नेहरुले धार्मिक द्वन्द्वको बिजारोपण गरेका हुन् । हामी त्यो गल्ती सच्याउने अभियानमा छौं ।’

उनले हिन्दु, बौद्ध र किराँत धर्मको साझा आस्था ‘हलेसी’ संस्कृतिको संरक्षण नै आफूहरुको लक्ष्य रहेको पनि उल्लेख गरेका छन् । ‘सनातन धर्म नष्ट गर्ने षडयन्त्रकारीहरु आफैं नष्ट हुन्छन्,’ ट्वीटमा उनले भनेका छन् ।