कमल थापा अमेरिका पुगेर भने: ६० लाख नेपालीको नोट चल्ने, भोट नचल्ने ?
टेक्सास- राप्रपा अध्यक्ष कमल थापाले विदेशमा रहेका ६० लाख नेपाली नागरिकको रेमिटान्सले देश चलेको तर भोट हाल्ने अधिकारबाट वन्चित गरिएको प्रति आवाज उठेका छन् ।
उनले उनीहरूको भोट बिना नै आउने परिणाम अपूर्ण भएको पनि बताएका छन् ।
उनले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।
अमेरिका भ्रमणमा रहेका थापाले टेक्सासको ड्यालसमा आयोजित नेपाली समुदायसंगको अन्तरक्रियामा प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।
थापाले तत्कालीन संविधानसभामा राप्रपा समेतको जोडबाट गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्दछ भन्ने व्यवस्था कायम गरिएको तर संविधान जारी भएको चार वर्षमा पनि कानुन बन्न नसक्नु दुस्खद भएको बताएका छन् ।
अध्यक्ष थापाले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको अविभाज्य क्षेत्र रहेकोमा जोड दिदै आम नेपालीको ऐक्यबद्धता, सम्पूर्ण राजनीतिक दलको एकमत र प्रवासमा रहेका नेपालीको दबाबमा पनि नेपाल सरकारले सीमा अतिक्रमण बारे भारत सरकारसंग वार्ता गरि समस्याको समाधानमा ढिलाइ गरिरहेको आश्चर्यजनक भएको बताएका छन् ।
सिमा सम्बन्धि समस्यामा राजा महेन्द्रलाई विवादमा तानिएको तर्फ संकेत गर्दै अध्यक्ष थापाले भारतीय पक्षलाई बलियो बनाउने र नेपालको तर्कलाई कमजोर बनाउने काम स्वयं नेपाली पक्षबाट भइरहेकोले कसैलाई दोष लगाउने चालबाजी नगर्न आग्रह गरेका छन् । सिमा अतिक्रमणका सम्बन्धमा प्रवासमा रहेका नेपालीको समुदायको र एनआरएनएको पहलकदमी, चासो र चिन्ता सकारात्मक र प्रशंसनीय रहेको पनि उनले बताए ।
नेपालका अन्य राजनीतिक दल भन्दा राप्रपा फरक विचार र फरक बाटोबाट हिडिरहेको बताउँदै कतिपयले दुस्साहसपूर्ण बाटो भनेतापनि नेपालको लागि राप्रपाले अबलम्बन गरेको मौलिक प्रजातन्त्र स्थापनाको बाटो सहि र उपयुक्त रहेको बताएका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा राप्रपा अध्यक्ष थापा संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका छन् ।