कमल थापाको प्रश्न: ओलीजीको राष्ट्रवाद खोइ ? - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

कमल थापाको प्रश्न: ओलीजीको राष्ट्रवाद खोइ ?



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले नेपालको सीमा मिचेर सार्वजनिक गरेको नक्सा तत्काल खारेज गर्न नेपाल सरकारसँग माग गरेका छन्।

बुधबार राप्रपाले तुलसीपुरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले नेपालको अभिभाज्य भूमि कब्जा गर्ने कार्य अत्यन्तै आपत्तिजनक रहेको बताए।

भारतले धेरै लामो समयदेखि कालापानी र लिपुलेकमा अनाधिकृत रूपमा कब्जा गर्दै आएको भए पनि त्यसलाई नेपालले निरन्तर विरोध गर्दै आइरहेको अध्यक्ष थापाले बताए।

भारत सरकारले प्रकाशित गरेको आधिकारिक भारतको नक्सामा कालापानी र लिपुलेकलाई भारतप्रति पारिएको भन्दै उनले त्यसको विरोध गरे। त्यो कदापी स्वीकार्य नभएको अध्यक्ष थापाले स्पष्ट पारे।

‘नेपालको सीमा अतिक्रमण गर्ने कुरा होस् वा नेपालमा आफ्नो स्वार्थ लाद्ने कुरा होस् त्यसमा विदेशीहरूको मनोबल बढेर गएको देखिन्छ,’ अध्यक्ष थापाले भने, ‘ हाम्रा देशका ठूला नेताहरूको लाचारी,आत्मसर्मपणवादी नीति,सत्तामा पुग्न र सत्तामा पुगेपछि टिकेर बस्न विदेशीको चाकडी गर्ने स्थितिको कारणले आज नेपालीको शिर निहुरेको छ।’

उनले नेपाल र नेपालीलाई हेप्ने काम भए त्यो कदापी स्वीकार्य नहुने चेतावनी दिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजोको जस्तै राष्ट्रियवादी सोच किन कमजोर भयो? भन्ने प्रश्न पनि गरे।

विगतमा प्रधानमन्त्रीले अडान लिएको कारणले गर्दाखेरी जनताले दुई तिहाइ बहुमत दिएको भए पनि पछिल्लो समय पटक/पटक राष्ट्रियताको सवालमा गम्भीर सवाल उठ्दा समेत चुप लागेको भन्दै उनले आश्चर्य व्यक्त गरे।

‘प्रधानमन्त्रीज्यू, नेपालको राष्ट्रियतामाथि खेलवाड हुँदा खेरी, विदेशीको दबाब र हस्तक्षेप हुँदाखेरी तपाईं किन निरिह भएर बस्नु भएको छ?,’ अध्यक्ष थापाले प्रश्न गरे।

उनले नेपाली भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा पारेको हुँदा त्यसलाई नेपाल सरकारले तुरुन्तै अस्वीकार गर्नुपर्ने माग गरे।

उनले भारत सरकार समक्ष कूटनीतिक माध्यमबाट प्रतिवाद गर्न अध्यक्ष थापाले प्रधानमन्त्रीलाई आग्रह गरे।