सुर्यबाट चुनाव लडे कमल थापा राप्रपा नेपालमा रहन नपाउने - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

सुर्यबाट चुनाव लडे कमल थापा राप्रपा नेपालमा रहन नपाउने



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिह्न लिएर निर्वाचित हुने जनप्रतिनिधिहरू सोही दलको हुने स्पष्ट पारेका छन् ।

शनिबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिह्न लिएर निर्वाचित भएकाहरू सोही दलको जनप्रतिनिधि हुने प्रस्ट पारेका हुन् ।

तर, स्वतन्त्र चिह्न लिएर उमेदवार भएकाहरू निर्वाचित भए भने उनीहरू स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उनले स्मरण गराए ।

“हाम्रो स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा गठबन्धन भन्ने शब्द छैन । अब हुँदै नभएको कुरा आयोगले जान्ने कुरा पनि भएन । त्यसकारण हामी के बुझ्दछौँ भने, यदि कोही व्यक्तिले कुनै पनि राजनीतिक दलको उमेदवारको हकमा त्यो दलले दिएको मनोनयनपत्रको आधारमा उमेदवारी दर्ता हुन्छ, अब त्यो उमेदवारी दर्ता हुने व्यक्ति त्यो दलको सदस्य हो कि होइन, कहिले प्रवेश गरेको हो, उसको त्यहाँ पार्टीमा के हैसियत छ भन्ने विषय आयोगको विषय होइन,” उनले भने, “त्यसकारण जुन चिह्नबाट ऊ उमेदवारी दिन्छ र निर्वाचित हुन्छ, त्यही दलको हो भन्ने निधो हुन्छ । तर, यदि कोही स्वतन्त्र रूपमा उमेदवार भएर स्वतन्त्र चिह्नबाट उसले निर्वाचन जित्यो भने ऊ स्वतन्त्र हुन्छ ।”

कुनै दलबाट निर्वाचित जनप्रतिनिधिले उक्त दल त्याग गरेमा वा उक्त दलले गर्नुपर्नेभन्दा विपरीत काम गरेमा उक्त दलको केन्द्रीय कमिटीले हटाउनका लागि निवेदन दिएमा १५ दिनभित्र सो पद रिक्त रहेको घोषणा गर्ने अधिकार आयोगलाई रहेको पनि उनले बताए ।

उनले भने, “कुनै दलबाट निर्वाचित पदाधिकारीले त्यो दल त्याग गरेर अर्को दलमा गएमा वा त्यो दलले गर्नुपर्ने कामभन्दा विपरित कार्य गरेको भनी त्यो दलको केन्द्रीय कमिटीले निर्णय गरेर आयोगमा निजलाई हटाइदिनुपर्‍यो भनेमा आयोगले आवश्यक प्रक्रिया पूरा गरी डकुमेन्ट हेरेर १५ दिनभित्रमा आयोगले त्यो पद रिक्त भएको घोषणा गर्छ ।”