कमल थापा भन्छन्: नयाँ पार्टीलाई खुट्टा टेकाउन सकिन, त्यसैले एमालेसँग लागेँ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ खोलेको पार्टीलाई खुट्टा टेकाउन नसकेको कारण एमालेसँग जोडिनु परेको बताएका छन् । थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने भन्दै आफूले गल्ति नगरेको बताएका थिए ।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले स्थानीय तहको निर्वाचनबाट आफूहरूको सम्मानजनक उपस्थिति हुने र पार्टी स्थापित गरिने बताए । उनले केही समयपछि लिङदेन नेतृत्वको राप्रपा पनि राप्रपा नेपालमै समाहित हुने दाबी गरे ।
पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनका लागि स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)सँग चुनावी तालमेल गरिएको उनले बताए । मत बदर हुन सक्ने भएकाले आफूहरू संयुक्त रूपमा सूर्य चिह्नबाटै निर्वाचनमा जाने बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको अडान, स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको उनले जानकारी दिए । थापाले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टीका रूपमा स्थापित गराइने जिकिर गरे ।
देशमा अब राजसंस्थाको आवश्यकता नरहेको र राप्रपा नेपालको एजेन्डा गणतन्त्रसहितको हिन्दुराष्ट्र रहेको उनले बताए । देशमा अब राजसंस्था आउन नसक्ने ठोकुवा गर्दै तत्कालीन राजाले भित्री रूपमा गणतन्त्र स्वीकार गरेर व्यवसायमा लागेको उनको भनाइ छ ।