कमल थापाले राजसंस्थाको मुद्दा छोडे, अब हिन्दूवादी दल खोल्ने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

कमल थापाले राजसंस्थाको मुद्दा छोडे, अब हिन्दूवादी दल खोल्ने



काठमाडौं । १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए । महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् ।

उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए । उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

त्यसयता थापाले महाधिवेशनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन हुनुपर्ने माग निरन्तर रूपमा उठाइरहेका छन् । यसका अलावा उनले सैद्धान्तिक, व्यावहारिक र संगठनात्मक गरी तीन विषय उठान गरिरहेका छन् ।

त्यसबारे पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने उनको माग छ । उनले यो विषयमा २७ मंसिरमा पहिलोपटक र १६ माघमा दोस्रोपटक अध्यक्ष लिङ्देनलाई पत्र पठाएर आफ्नो मागबारे ध्यानाकर्षण गराएका थिए । तीन दिनअघि थापा र लिङ्देनबीच भेटवार्ता पनि भयो । तर, सो भेटवार्ताले पनि थापा खुसी हुन सकेनन् ।

उनले अध्यक्ष लिङ्देनले आफूलाई आएर भेटेको तर माग सम्बोधन गर्ने दिशामा उनी नदेखिएको पनि बताएका छन् । ‘अध्यक्षजीसँग मेरो घरमै सामान्य कुरा भयो । मैले दुईपटक लिखितपत्र बुझाएर उठाएका विषय समाधानतर्फ उनी गम्भीर भएको मैले पाइनँ,’ उनले भनेका छन्, ‘अध्यक्षको कुराअनुसार समस्याको निकास दिने सम्भावना रहेन । अहिलेसम्म निकास दिने छाँट नदेखिएकाले अब विकल्प खोज्नैपर्ने भएको छ ।’

राप्रपाका निवर्तमान अध्यक्ष थापा अहिले जुन रूपमा अघि बढिरहेका छन्, त्यसले राप्रपा कुनै पनि दिन विभाजन नहोला भन्न सकिन्न । एकता महाधिवेशनमा लिङ्देनसँग पराजित भएसँगै उनले पार्टी गतिविधि पनि बहिष्कार गर्दै आएका छन् । उनका पछिल्ला गतिविधि नियाल्ने हो भने थापा नयाँ पार्टी गठनमा लागेको देखिन्छ ।

जस्तो उनले सोमबार नै सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आफूनिकट पदाधिकारी र सदस्यको भेला राखेर अध्यक्ष लिङ्देनले आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएकाले नयाँ विकल्पका लागि तयार रहन आग्रह गरेका छन् । ‘मैले उठाएका राजनीतिक र संगठनात्मक विषयलाई अध्यक्ष लिङ्देनजीले सम्बोधन गर्ने कुनै तत्परता देखाउनुभएन’, अध्यक्ष थापाले भेलामा भने,’ मैले उठाएका माग सम्बोधन भएमा पार्टीमै बस्छु । यदि ती विषय सम्बोधन नभएमा विकल्प खोज्छु । त्यो अवस्थामा मलाई सबैको साथ सहयोग चाहिन्छ ।’

भेलामार्फत नै थापाले अध्यक्ष लिङ्देनलाई तीनवटा माग पूरा गर्न अल्टिमेटमसमेत दिएका छन् । ती माग सम्बोधन नगरे ‘नयाँ यात्रा’ थालनी गर्ने चेतावनी पनि उनले दिएका छन् । थापाको नयाँ यात्रा भने राजसंस्था छाडेर हिन्दूवादी दल खोल्ने उनको तयारीसँग जोडेर हेरिएको छ ।

सोमबारको भेलामा अध्यक्ष थापाले स्थानीय तह निर्वाचनअगावै आफ्ना माग पूरा गर्न अल्टिमेटमसमेत दिएका थिए । ‘स्थानीय चुनाव सरकारले घोषणा गर्नुअगाडि नै हामीले उठाएका तीन विषयमा छलफल गरेर निराकरण हुँदैन र समाधान खोज्नतर्फ लागिएन भने हामी बाध्य भएर विकल्पमा जानुपर्छ,’ थापाले भनेका छन् ।

यद्यपि, सरकारले उनको भेला सकिएको केही घण्टामै ३० वैशाखका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । सो भेलामा थापाले भनेका छन्, ‘सरकारले सम्भवतः आजै स्थानीय तह निर्वाचन मिति घोषणा गर्न सक्छ । आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम थोरै छ ।’

उनले अगाडि भनेका छन्, ‘अब लामो समयसम्म प्रतीक्षा गरेर रहन सकिँदैन । पार्टी दुर्घटनातर्फ उन्मुख हुँदै गइरहेको छ, कार्यकर्तामा विचलन देखिएको छ । यही अवस्थामा स्थानीय चुनाव आइरहेको छ । हामीले यो अवस्थामा तीन विषय निराकरण गरिएन भने निरिह र लाचार भएर यो सबै घटनाक्रमको साक्षी भएर बस्न सकिन्न ।’

थापाको यो भनाइले उनी राप्रपामै बस्नेभन्दा नयाँ दल खोल्न अग्रसर भइसकेको अनुमान गर्दा केही फरक पर्दैन । उनले भनेका छन्, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन । तर, बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरु हुन्छ । म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस् । हामी निर्णायक घडीमा आइपुगेका छौं ।’

पार्टी महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपलगायत विषयबारे छलफल गरेर पार्टी नेतृत्वबाट निराकरण भयो भने आफू राप्रपामै रहने र देशैभर संगठन विस्तारका काममा लाग्ने उनको भनाइ थियो ।

त्यसो त थापाले यसअघि नै राष्ट्रिय एकता अभियान पुस २७ गतेदेखि सञ्चालन गर्ने तयारी पनि गरेका थिए । तर, कोरोनाको बढ्दो संक्रमणलाई कारण देखाउँदै तत्कालका लागि त्यो अभियान स्थगित गर्न पुगेका थिए ।

पूर्वअध्यक्ष थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेपबारे छानबिन गर्न दुईपटक गरिएको ध्यानाकर्षणप्रति अध्यक्ष लिङ्देन गम्भीर नभएकाले अब विकल्प खोज्ने बिन्दुमा थापा पुगेको बताए ।

थापाले बोलाएको भेलामा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की, राजीव पराजुली, कुन्ती शाही, जयन्त चन्द, तोरणबहादुर गुरुङ, विक्रमबहादुर थापा र नीलकण्ठ काफ्लेलगायत सहभागी थिए ।

स्रोतका अनुसार, भेलामा सहभागी राप्रपा पदाधिकारीहरूले भने हतारमा निर्णय नगर्न आग्रह गरेका थिए । थापाले यो विषयलाई पार्टीले छानबिनको विषय बनाउनुपर्ने निरन्तर माग अघि सार्दै आए पनि अध्यक्ष लिङ्देनले अहिलेसम्म सुनुवाइ गरेका छैनन् । बरु अध्यक्ष लिङ्देनले पार्टीमा आफ्नो शक्ति बढाउँदै लगेका छन् । उनी महाधिवेशनमा पदाधिकारीमा स्पष्ट अल्पमतमा थिए । तर, मनोनयनपछि भने उनले आफ्नो पक्षमा स्पष्ट बहुमत पु-याएका छन् । केन्द्रीय समितिमा पनि लिङ्देनकै बहुमत छ ।

राप्रपाको निर्वाचनबाट उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की र ध्रुवबहादुर प्रधान निर्वाचित भएका थिए ।

यी चारमध्ये प्रधान र तामाङ कमल थापा पक्षका हुन् । महामन्त्रीमा निर्वाचित धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाहीमध्ये राणा मात्रै लिङ्देन पक्षका हुन् । पदाधिकारीमा अल्पमतमा रहेका लिङ्देनले डेढ साताअघि २४ जनालाई मनोनयन गरेका थिए । त्यसपछि भने उनी स्पष्ट बहुमतमा छन् । उनले विधानबमोजिम नै उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री र सहायक महामन्त्री पदमा २४ जनालाई मनोनीत गरेका हुन् ।

उता, लिङ्देनले थापाको प्रस्ताव पहिलो दृष्टिमै अनुपयुक्त भएको जवाफ दिने गरेका छन् । थापाले उठाएजस्तै राजसंस्थाबारे नकारात्मक सन्देश जानेगरी छलफल नहुने र त्यसबारे सोच्न पनि नसकिने लिङ्देनको भनाइ छ ।