कमल थापालाई आफ्नै छोरी र भतिजा र आफन्तले समेत पत्याएनन् - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

कमल थापालाई आफ्नै छोरी र भतिजा र आफन्तले समेत पत्याएनन्



काठमाडौं- गीता छोपेर पार्टी नाफुताउने कसम खाएको एकै वर्षमा राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष बनेका कमल थापालाई आफ्नै छोरी र भतिजासहित परिवारिक सदस्यहरूले साथ नदिने भएका छन् ।

काठमाडौंमा शनिबार उनले ‘राप्रपा नेपाल’ पार्टीको घोषणा गरेपनि आफ्नै परिवारका सदस्यले उनलाई पत्याएका छैनन । राप्रपाको सदस्यमा निर्वाचित भएका छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापा राप्रपा नेपालको घोषणा कार्यक्रममा गएनन् ।

छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापाले राप्रपाको सदस्यबाट पनि राजीनामा दिएका छैनन् । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता गरेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका थापालाई उनकै पारिवारिक सदस्यले नपत्याएपछि सामाजिक सञ्जालमा समेत यसको चर्चा भैइरहेको छ ।

राप्रपा सदस्यमा निर्वाचित प्रमाणपत्र नबुझेका प्रतिष्ठा र अभिषेक औपचारिक रुपमा कुनै पार्टीमा आवद्ध भएका छैनन् । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको घोषणा कार्यक्रम नदेखिनुले पनि उनीहरू सो पार्टीमा नरहेको स्पष्ट हुन्छ ।

पुराना साथीलाई आफूलाई सहयोग गर्न केही दिनअघि अध्यक्ष थापाले आह्वान गरे पनि पारिवारिक सदस्यकै साथ नदेखिएको हो ।

यस्तै नाताले सम्धी पर्ने भरत रायमाझी र थापा उपप्रधानमन्त्री हुँदासमेत स्वकीय सचिव रहेका राजाराम बर्ताैलाको पनि साथ अध्यक्ष थापाले पाएका छैनन् ।

हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डामध्ये हिन्दु राष्ट्रको एजेण्डा बोकेर राप्रपा नेपालको नेतृत्व सम्हाल्न गएका थापालाई आफ्नै पारिवारिक सदस्यको साथ नरहेको देखिएको हो ।

राप्रपा नेपाललाई आफ्नै पुरानो घर दाबी गरेका थापाले गठन गरेको राप्रपा नेपाल २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । तर, अहिले थापा गएको राप्रपा नेपाल लाक्पा शेर्पाले गठन गरेका हुन् । शेर्पाले अध्यक्षबाट राजीनामा दिएर थापालाई नेतृत्व सुम्पिएका हुन् ।