आइपिएलको त्यो रोमाञ्चक खेल : 'कमाल कर्तेहो धोनी जी' - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आइपिएलको त्यो रोमाञ्चक खेल : ‘कमाल कर्तेहो धोनी जी’



काठमाडौं -इन्डिय प्रिमियर लिगमा हजारौं दर्शकले आइतबार निकै रोमाञ्चक र शानदार म्याच हेर्न पाए । चिन्नस्वामी स्टेडियममा आइतबार खेलिएको दोस्रो प्रतिस्पर्धामा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेञ्जर्स बैंगलोरले महेन्द्र सिंह धोनीको कप्तानीको चेन्नई सुपर किंग्सलाई मात्र एक रनले पराजित गरिदियो । खेल कसको पक्षमा जाँदैछ भन्ने कुराको निर्णयमा पुग्न स्वयं खेलाडीहरुले अन्तिम बलसम्म कुर्नुपर्यो जुन बिरलै हुने गर्छ ।

१ सय ६२ रनको लक्ष्य पूरा गर्न चेन्नईले अन्तिम ओभरमा २६ रन जोड्नुपथ्र्यो । धोनीले यो ओभरमा पाँच बलमा २४ रन त बनाएकै हुन् तर, अन्तिम बलमा उनी चुके । एकै रन लिएका हुन्थे भने पनि स्कोर बराबर हुन्थ्यो र म्याचको फैसला सुपरओभरबाट लिइन्थ्यो । तर, यसो भएन । तैपनि, चेन्नई सुपर किंग्सको हारका बाबजूद धोनीको किफायती ब्याटिङले विपक्षी खेलाडीको सातो लगेको थियो ।

धोनीले आइतबार गरेको ब्याटिङलाई विश्लेषकहरुले १० वर्षअघि उनैले गर्ने गरेको धमाकेदार ब्याटिङको संज्ञा दिएका छन् । अहिले धोनी ३८ वर्षका भए । तर, उनले आइतबार २८ वर्षको उमेरमा देखाएको धमाकेदार ब्याटिङलाई दोहोर्याएका भारतीय खेल विश्लेषकहरु बताउँछन् ।

विराट कोहलीले बल तीव्र बलर उमेश यादवलाई थमाए । त्यतिबेला चेन्नईका कप्तान एवं संसारका सबैभन्दा कुशल म्याच फिनिशरका रुपमा परिचित महेन्द्र सिंह धोनी स्ट्राइकमा थिए । धोनीले उमेश यादवको पहिलो बलमै चौका मारे । दोस्रो बलमा उनले छक्का फ्याँकिदिए । दुई बलमै १० रन आएपछि चेन्नईलाई जितको सुगन्ध मिल्न थाल्यो । धानीले तेस्रो बलमा पनि लग–अफमा छक्का प्रहार गरे । यसले चेन्नईलाई झन् उत्साहित पार्यो ।

यसपछि बैंगलोरका कप्तान विराट कोहलीको अनुहार अँध्यारो बन्यो । अर्को बलमा धोनीले दुई रनमात्रै लिए । यसबेला भने बलर उमेश र कप्तान विराटले राहतको शास लिए ।

तर, धोनीले त अरु नै केही सोचेका थिए । पाँचौं बलमा धोनीले बललाई फेरि छक्काका लागि पठाइदिए । अब अन्तिम बलमा चेन्नईको जितका लागि मात्र दुई रनको जरुरी थियो । तर, उमेश यादवले बल हल्का फालेर धोनीलाई झुक्याइदिए ।

तैपनि, धोनी रनका लागि दौडिए । यद्यपि, विकेटका पछाडि उभिएका विकेटकीपर पार्थिव पटेलले चुस्तपन देखाउँदै पहिला बल समाते र त्यसपछि तत्कालै फालेर स्टम्प ढालिदिए । यस क्रममा शार्दूल ठाकुर रनआउट भए । योसँगै बैंगलोरले यो म्याच एक रनले जित्यो ।

जितपछि कप्तान विराट कोहली र उनका सबै साथी जितको माहोलमा रमाउन लागे भने चेन्नई टिमका खेलाडीहरु दुखी बने ।

महेन्द्र सिंह धोनी ४८ बलमा ७ छक्का र पाँच चौकाको मद्दतबाट ८४ रन बनाएर नटआउट रहे । यस्तै आबान्ती रायडूले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए । चेन्नईका अन्य ब्याट्सम्यानले दुई अंकमा रन जोड्न सकेनन् । उमेश यादवले ४७ रन दिएर दुई तथा डेल स्टेनले २९ रन दिएर दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको बैंगलोरले पार्थिव पटेलको ५३, एबी डिभिलियर्सको २५, मोईन अलीको २६ र आकाशदीप नाथको २४ रनको मद्दतबाट निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ६१ रन बनायो ।

अझ चाखलाग्दो कुरा यो छ कि चेन्नई सुपर फोरमा पुग्नका लागि सिर्फ दुई अंकले टाढा छ । १० म्याचमा सात जित र तीन हारपछि उसको १४ अंक छ । तर, ऊ लगातार दुई म्याच हारिसकेको छ ।

अर्कोतिर, आइतबारको जितसँगै बैंगलोर सुपर फोरको दौडमा बाहिरिनबाट जोगिएको छ । १० म्याचमध्ये तीनमा जित र सातमा हार बेहोरेको बैंगलोरको ६ अंक छ । अब ऊ त्यतिबेलासम्ममात्रै अघि बढ्नेछ जतिबेलासम्म जित्छ । अबको कुनै पनि म्याचमा हारेमा ऊ रेसबाट बाहिरिनेछ ।
यो म्याचलाई लिएर क्रिकेट विश्लेषक अयाज मेमनले यस्तो चाखलाग्दो म्याच आईपीएलमा विरलै हुने गरेको बताए ।