काम नगर्ने कर्मचारी देशका भाइरस हुन् : मन्त्री पण्डित - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

काम नगर्ने कर्मचारी देशका भाइरस हुन् : मन्त्री पण्डित



तानसेन : संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकार खटाएको काममा नजाने कर्मचारी देशका लागि भाइरस भएको बताएका छन्। ‘जागिर सरकारी खाने तर, काम नगर्ने, राजनीति गर्ने, नेतागिरी गर्ने, चाकडी गर्ने कर्मचारी देशका लागि आवश्यक छैन’, मन्त्री पण्डितले भने।

संघीय संरचना अनुसार कामलाई चुस्त बनाउन असार भित्र सबै स्थानीय निकाय, प्रदेशमा आवश्यक कर्मचारी खटाउने तयारी भइरहेको उनको भनाइ छ। मन्त्री पण्डितले जनप्रतिनिधिले राष्ट्रसेवक कर्मचारीको साथ लिएर देशलाई समृद्धिको बाटोमा लानुको विकल्प नभएको प्रष्ट पारे।

सामुदायिक रेडियो मदनपोखरा पाल्पाको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पण्डितले जनताको काम नगरी दिन बिताउने कर्मचारीका दिन समाप्त भएको बताए। उनले काम नगर्नेलाई दण्डित र काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने प्रष्ट पारेका छन्।

मन्त्री पण्डितले बढी दरबन्दी भएका स्थानमा कर्मचारी कटौती गर्ने र दरबन्दी नभए पनि थुप्रिएर बसेका कर्मचारीलाई कार्य स्थलमा पठाउने प्रतिबद्धता समेत व्यक्त गरे। स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिँदै मन्त्री पण्डितले जनताले दिएको आत्मबल र भरोसालाई शिरमा राखेर विकास निर्माणका काममा सक्रिय भएर लाग्न आग्रह गरे।

उनले जनप्रतिनिधिलाई आफ्ना निजीकुरा भन्दा विकासमा देखिएका संकटलाई समाधान गरेर जनतालाई अधिकार दिन लाग्नुपर्ने बताए । कर्मचारीमा तलव सरकारको खाने र काम गैर सरकारी संस्था गर्ने अवस्था देखिएकाको भन्दै मन्त्री पण्डितले अब त्यस्ता कर्मचारीको दिन गएको चेतावनी दिए। त्यस्ता कर्मचारीलाई जागिर खोसेर कारबाही गर्ने उनको भनाइ छ।

कार्यक्रममा पूर्वमन्त्री प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेले स्थानीयतहलाई दिएको अधिकार केन्द्रीय तहबाट कटौती नहुने भएकाले ढुक्क भएर काम गर्न जनप्रतिनिधिलाई अनुरोध गरे। सामुदायिक रेडियो मदनपोखराले जनतामुखी भएर काम गर्दै आएको र आगामी दिनमा पनि जनता केन्द्रित भएर आफ्ना सामग्रीहरु पस्कन पाण्डेले सुझाव दिए।