एक साता नबित्दै कालोपत्रेमा घाँस उम्रियो - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

एक साता नबित्दै कालोपत्रेमा घाँस उम्रियो



‘अख्तियारद्वारा अनुसन्धान सुरु’

धनगढी ,कैलाली । निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । आयोगको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयको टोलीले कालोपत्रे गरिएको सडकको निरीक्षण गर्नुका साथै धनगढी उपमहानगरपालिकाबाट सडकसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।

निरीक्षण गर्दा कालोपत्रे सडकमै घाँस उम्रिएको देखिएको अख्तियारको क्षेत्रीय कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले बताए । चेकजाँचका लागि केही कागजात नियन्त्रणमा लिइएको र उपमहानगरसँग थप कागजात माग गरिएको उनले जानकारी दिए । निरीक्षणमा गएको दिन उपमहानगरका लेखा अधिकृत बिदामा रहेकाले उपलब्ध हुन नसकेका निर्माण सम्झौतापत्र, बिल भुक्तानी माग गरिएको सूचना अधिकारी विष्टले बताए । ‘कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । सडकमै घाँस उम्रिएकाले यसको गुणस्तर हेर्न आयोगले प्राविधिक टोली खटाउँदै छ,’ उनले भने । अख्तियार टोलीले धनगढी उपमहानगरपालिका र निर्माण कम्पनीसँग कालोपत्रे सडकबारे सोधपुछ पनि गरेको जनाएको छ ।

सात सय २६ मिटर लामो यो सडक केएस टेडी जेभीले केही दिनअघि कालोपत्रे गरेको हो । धनगढी चौराहानजिक ११० मिटर लामो एनडी पथ र सद्भावना मार्ग एउटै प्याकेजमा राखेर भ्याटबाहेक एक करोड २१ लाख रूपैयाँमा निर्माण भएको हो । दुवै प्याकेज एउटैमा रहेको भन्दै उपमहानगरले सद्भावना मार्गमा मात्र खर्चिएको बजेट खुलाएको छैन । उपमहानगरका इन्जिनियर कमलराज ओझाका अनुसार सडकको दुवैतिरको नाली गत वर्ष नै उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । नालीसम्मै सडक कालोपत्रे गर्ने सम्झौता रहेको उनले बताए ।

गुणस्तर जाँच गर्न स्थानीयको माग

कालोपत्रे भएको केही दिनमै घाँस उम्रिएकाले गुणस्तरहीन काम भएको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । विकासका नाममा बेथिति भएको भन्दै सडकको गुणस्तर जाँच गर्नुपर्ने स्थानीयको माग छ । स्थानीय गोरखबहादुर थापाले सडकमाथि घाँस उम्रनुले गुणस्तरहीन काम भएको प्रस्ट देखिएको बताए । ‘सडक पिच भएपछि सुविधा होला ठानेका थियौँ । तर, पिचमाथि नै घाँस उम्रिएकाले सडक धेरै दिन टिक्ने देखिँदैन,’ थापाले व्यंग्य गर्दै भने, ‘घाँसभन्दा पनि कालोपत्रे कमजोर रहेछ, यस्तो सडक कति दिन टिक्ला र ?’

घाँस हटाई राम्ररी गिट्टी बिछ्याएर कालोपत्रे गर्न आग्रह गरे पनि निर्माण कम्पनीले सुनुवाइ नगरेको स्थानीयको गुनासो छ । गिटीसमेत बराबरी नबिछ्याइएर कालोपत्रे गरिँदा कतिपय ठाउँमा बीच सडकमै पानी जम्ने गरी होचो रहेको स्थानीय अर्का स्थानीय रामप्रसाद चौधरीले बताए । ‘हतार–हतारमा काम भयो, गुणस्तरलाई ध्यान दिइएन,’ सडकछेउमै घर भएका चौधरीले भने, ‘छेउछाउमा घाँसमाथि अलि–अलि मात्र अलकत्रा राखेर कालोपत्रे गरिँदा घाँस उम्रियो ।’ सरोकारवाला निकायबाट सडकको गुणस्तर जाँच हुनुपर्ने उनको माग छ ।

उपमहानगर भन्छ, ‘गाडी नगुडेकाले घाँस उम्रिएको हो’

उपमहानगरले भने प्राविधिक कमजोरीले नभई छेउछाउतिर गाडी नगुड्ने ठाउँमा घाँस उम्रिएको तर्क गरेको छ । कालोपत्रेमा घाँस उम्रिँदैमा गुणस्तरहीन काम भएको भन्न नमिल्ने उपमहानगरको योजना तथा प्राविधिक शाखाका प्रमुख इन्जिनियर दिजराज भट्टले बताए । छेउछाउतिर घाँस उम्रिनुलाई प्राविधिक कमजोरी नभई सामान्य रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘कालोपत्रेको मोटाइ कम भएर होइन, ट्राफिक फ्लो नहुने भएकाले छेउछाउतिर घाँस उम्रिएको रहेछ,’ भट्टले भने, ‘पिच गर्दा नै घाँस हटाएको हो, तर पुनः उम्रिएछ । निर्माण कम्पनीलाई केमिकल हालेर घाँस नष्ट गर्न भनिसकेका छौँ ।’

कालोपत्रेको मोटाइ दुई सेमी बनाउने सम्झौता रहेको उनले बताए । कालोपत्रे सम्पन्न भए पनि सडकछेउमा सोलारबत्ती जडान गर्न बाँकी रहेकाले पूरै रकम भुक्तानी भइनसकेको उपमहानगरले जनाएको छ । नगरप्रमुख नृपबहादुर वडले सम्झौतामा उल्लिखित गुणस्तरको मापदण्डअनुसार नै सडक बनेको दाबी गरे । राम्रोसँग रोलिङ नभएकाले छेउछाउमा घाँस उम्रिएको उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रीका दैनिकमा धनगढीबाट तेजराज भट्टले लेखेका छन् ।