प्रधानमन्त्री ओलीमाथि कालो बादल मडारिंदै - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्री ओलीमाथि कालो बादल मडारिंदै



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएका पछिल्ला घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक दवाव बढेको छ । नेकपाको जारी स्थायी कमिटी बैठकमा सहभागी हुनेदेखि पद छाड्नेसम्मको कालो बादल ओलीमाथि मडारिएको छ ।

अध्यक्षद्वयले छुट्टाछुट्टै आरोपपत्र सचिवालय बैठकमा पेश गरेपछि बढेको विवाद स्थायी कमिटीमा पुगेपछि अध्यक्ष ओलीले आफू बैठकमा सहभागी नहुनेबताएका थिए ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रस्तावमाथि छलफल गर्ने भन्दा पनि अस्वीकार गर्ने रणनीति लिएपछि सचिवालय बैठकमा समस्या झन् बल्झिएको थियो ।

त्यसलगत्तै बोलाइएको स्थायी कमिटी बैठकमा आफू उपस्थित नहुने भन्दै अध्यक्ष ओलीले कारवाही गर्न प्रचण्डलाई चुनौती पनि दिएका थिए ।

प्रधानमन्त्री ओलीले यसअघि पटक पटक भएका सचिवालय बैठकमा स्थायी कमिटी बैठकको औचित्य नभएकाले आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।

गत आइतबार बसेका स्थायी कमिटी बैठकमा आफू उपस्थित नभएपनि लिखित मन्तव्य पठाएर उनले बैंठकमा सहभागीता जनाए । यसैबीच स्थायी कमिटीको बैठकपछि संवादहीन रहेका अध्यक्षद्वयबीच बुधबार भएको छलफलपछि ओली आगामी बैठकमा सहभागी हुन नैतिक दवावमा छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले दुवै प्रस्ताव फिर्ता लिन आग्रह गरेपनि प्रचण्डले छलफलमा गइसकेकाले स्थायी कमिटीबाटै टुंगो लाग्ने अडान लिएका थिए ।

प्रचण्डको अडानले ओलीलाई थप दवाव परेको हो । प्रधानमन्त्री ओलीले आफूहरुबीच सहमति गरेर अघि बढ्न गरेको प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेसँगै ओलीलाई दवाव परेको प्रचण्ड-नेपाल पक्षका नेताहरुले दावी गरेका छन् ।

नेकपा स्थायी कमिटीको बैठक यही मंसिर २८ गते बस्दैछ ।