कालिमाटी तरकारी बजारमा छापा: २ ट्रक नियन्त्रण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कालिमाटी तरकारी बजारमा छापा: २ ट्रक नियन्त्रण



काठमाडौं– राजधानीका लागि तरकारी तथा फलफूल बिक्रि हुने प्रमुख बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक टोलीले छापा मारेको छ।

बिहान करिब ३ बजे आपूर्तिमन्त्री मात्रिका यादवका स्वकीय सचिव सन्तोष विष्टको संयोजनमा आपूर्ति विभाग, सुरक्षाकर्मी र केही उपभोक्तावादी सम्मिलित टोली कालिमाटी पुगेको थियो।

तरकारीमा बिचौलियाको उपस्थिति शून्यमा झार्ने लक्ष्यसहित उक्त टोलीले विभिन्न स्थानबाट कसरी तरकारी भित्रन्छन् भन्ने सम्बन्धमा अनुगमनका लागि त्यहाँ पुगेको हो। सो क्रममा बिलबिजक, कसको र कहाँबाट ल्याइएको इत्यादी नखुलेपछि तरकारी बोकेका २ ट्रक नियन्त्रणमा नियन्त्रणमा लिएको छ।

दुई ट्रकमध्ये ना४च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएपनि बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका प्रहरीले जनाएको छ। महानगरीय प्रहरीकाअनुसार नियन्त्रणमा लिइएका चालकसँग सोधपुछ तथा थप अनुसन्धान जारी छ।

तरकारी बोकेका ट्रक र चालकलाई पक्राउ गरिएपछि व्यवसायीहरुले अनुगमन कार्यमा अवरोध गरेका छन्। हाल कालीमाटी तरकारी तथा फलफूल बजारको अवस्था अशान्त रहेको बताइएको छ।

पछिल्लो समय तरकारीको मूल्य अस्वभाविक महंगिएपछि केही दिनअघि आपूर्ति विभागको टोली धादिङ, चितवन, मकवानपुर लगायतका तरकारी उत्पादन हुने स्थान पुगेर अनुगमन गरेर फर्केको थियो।