कालापानीबाट भारतीय सेना हटाउने नेकपा स्थायी कमिटिको निर्णय
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वार्ताका माध्यमबाट नेपाली भूमिबाट भारतीय सेना हटाइने बताएको छ ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले भारतले अतिक्रमण गरेर बसेको सेनालाई वार्ताको माध्यमबाट हटाइने निष्कर्ष निकालेको छ । नेकपा प्रवक्ता नारायण्काजी श्रेष्ठले कूटनीतिक पहलबाटै सीमा समस्या समाधान गर्ने जानकारी दिए ।
‘हामीले कुटनीतिक पहलबाटै छलफलमार्फत भारतसँगको सीमा समस्या समाधान गर्ने निर्णय गरेका छौँ । नेपाली भूमिमा बसेका विदेशी सुरक्षाकर्मीलाई फिर्ता पठाउनेसम्मको निर्णय गरेका छौं’, उनले भने ।
प्रवक्ता श्रेष्ठले नेकपाभित्रको अन्तरविरोधका कारण भारतसँग सीमा समस्याबारे छलफल गर्न ढिलाइ भएको बताए । उनकाअनुसार आजको बैठकमा सरकारले नयाँ भूभागसहित जारी गरेको नयाँ नक्साबारे सरकारलाई धन्यवाद दिएको थियो ।
‘भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताका लागि बस्ने भनिएको वार्तामा ढिला हुनुमा पार्टीकै अन्तरविरोध पनि प्रमुख कारक भएको निष्कर्ष बैठकले गरेको छ’, उनले भने ।
भारतले नेपालको भूभाग कालापनी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेर आफ्ना सेना रोखेको छ ।