बूढो मर्‍यो भन्ने मात्र होइन काल पल्क्यो भन्ने चिन्ता हो: माधव नेपाल - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

बूढो मर्‍यो भन्ने मात्र होइन काल पल्क्यो भन्ने चिन्ता हो: माधव नेपाल



काठमाडौ । नेकपाका अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा दिएको मन्तव्यपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई खेदेको बताएका छन् ।

उनले आज राजधानीमा नागरिक समाजसँगको अन्तर्क्रियामा बोल्दै “२०७५ सालको कात्तिकमा केपी ओलीजी प्रधानमन्त्री भइसकेपछि उहाँको सरकार सञ्चालनको तौरतरिकाप्रति असन्तुष्टि जनाउँदै मैले संसद्‌मा बोलेको कुरा अझै स्मरण छ कि छैन ? मेरो देश डुब्नै लाग्यो किनारा लगाइद्‍यौ । माझी छौ कि कोही यो देश बचाइदेऊ । त्यो भनेबापत् केपी ओलीजीले मलाई खेदेको खेद्‌यै, केसम्म गर्नु भो मैले भन्नुपर्दैन,’’ उनले सम्झिए ।

उनले केपी ओलीको भन्दा पनि ओली प्रवृत्ति समस्या भएको बताए । नेपालले निरंकुश र तानाशाही प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको बताए । ओली प्रवृत्तिप्रति कटाक्ष गर्दै भने, ‘‘बूढो मर्‍यो भन्ने मात्र होइन काल पल्क्यो भन्ने चिन्ता हो । केपी ओली होइन, केपी ओली प्रवृत्तिविरुद्धको संघर्ष हो ।”

नेपालले अदालतमाथि धम्क्याउने काम नगर्न सरकारलाई आग्रह पनि गरे । लोकतन्त्रको पक्षमा रहेको बताउँदै भने, “अधिनायकवादी बाटो पहिल्यै छोडिसक्यौं । सुरुमा केही उग्रतावामपन्थता थियो । हामीले वाग्मतीमा बगाएका छौं ।” उनले नागरिक समाजलाई पार्टीको झन्डामा नभएर साझा झन्डामा आन्दोलनमा जान आग्रह पनि गरे ।